चितवन प्रहरीको चाडपर्व लक्षीत सुरक्षा योजना : ७१५ प्रहरी परिचालन, २४ सै घण्टा गस्ती

मूलखबर संवाददाता
चितवन, २८ भदौ ।

चितवन प्रहरीले चाडपर्व लक्षीत विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार, छठ, उभौली उधौली लगायतका आउँदै गरेको चाडपर्व लक्षीत सुरक्षा योजना शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सुरक्षा योजनामा यात्रुको सुरक्षा, भिडभाडको मौकामा हुनसक्ने चोरी, तस्करी, हिंसात्मक गतिविधि, गुणस्तरहिन वस्तुको विक्रि वितरण नियन्त्रण, बैंक तथा वित्तिय क्षेत्रको सुरक्षा प्राथकितामा रहेका छन । यस्तै अवैध मदिरा विक्रिवितरण, मादक पदार्थ सेवन गरी हुनसक्ने झैझगडा नियन्त्रण, जुवा तास नियन्त्रण, नसालु पदार्थ तथा लागुऔषध नियन्त्रण पनि विशेष सुरक्षा योजनामा समेटिएका छन ।

७१५ प्रहरी परिचालन
योजना मातहतका सम्पुर्ण प्रहरी इकाई, संयन्त्र मार्फत कडाईका साथ लागु गरीने प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । मल्लका अनुसार सुरक्षा योजना सफल पार्न जिल्लामा ७ सय १५ जना प्रहरी परिचालन हुनेछन । भरतपुरका मुख्यमुख्य क्षेत्रमा ३८ वटा सिसि क्यामेरा पनि जडान गरीएको मल्लले बताए ।

योजना सफल पार्न जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोष्ट राखिने, रिजर्भ फोर्स तयारी अवस्थामा राखिने, क्वीक रेस्पोन्स टिम परिचालन हुने तथा १२ वटा मोवाईल गस्ति हुने जनाईएको छ । यस्तै १७ वटा मोटरसाईकले पनि गस्ति गर्नेछ ।

२७ स्थानमा प्रहरीको विशेष टुकडी राखिने, राजमार्ग गस्ति र स्कटीङका लागी ६ वटा भ्यान खटिनेछन । २४ वटा प्रहरी युनिटबाट सादा पोसाकका प्रहरी परिचालन हुने प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए ।

३ स्थानमा हेल्पडेस्क
यात्रुको सहजताका लागी पुलचोक, केन्द्रिय बस टर्मिनल र पोखरा बसपार्कमा हेल्पडेस्क स्थापना गरीने सवारी चेकजाँचलाई व्यापकता दिने प्रहरीले जनाएको छ । सुरक्षा योजनालाई महानगर, नगर, गाँउपालिकाका प्रमुख, सुरक्षा निकाय साथै सरोकारवाला पक्षविचको समन्वयमा थप प्रभावकारी बनाउने प्रहरीको योजना रहेको छ ।