गलत काम गर्ने अाफ्नै भाईलाई पनि नछाड्ने गृहमन्त्रीको जताततै प्रशंसा

मूलखबर संवाददाता
काठमाडौं, २७ भदौ

गलत धन्दामा संलग्न देखिए आफ्नै भाइलाई पनि अनुसन्धानको दायरामा लग्न र दोषी देखिए कार्वाही गर्न प्रहरीका अधिकारीलाई नरोकेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’काे जताततै प्रशंसा सुन्न थालिएको छ ।

गृहमन्त्री बादलविरुद्ध केही मिडियामार्फत् नियोजित प्रहार सुरु गरिएको छ । अपराधकर्मसँग भाइको तथाकथित ‘कनेक्शन’लाई देखाएर गृहमन्त्रीविरुद्ध कसिएको यो मोर्चाको रहस्य त समयक्रममा खुल्दै जाला । तर भुल्नै नसकिने तत्य यो हो कि गृहमन्त्री बादलमात्र यस्ता पात्र हुन् जसले आफ्नो भाइविरुद्धको अनुसन्धानलाई रोक्न कुनै पहल गरेनन्, बरु अनुसन्धान प्रक्रियालाई सहज बनाउन भूमिका खेले ।

एउटा दैनिक पत्रिकाले पारिवारिक नाताको आडमा भाइले अपराध गरेको भन्दै गृहमन्त्री बादलविरुद्ध अभियान नै चलाएको छ । गृहमन्त्रीका भाइ नरेश थापाको अपराध कर्म गर्नेहरुसँगको सम्बन्धबारे अनुसन्धान हुँदैछ । अहिलेको दुनियाँमा फोन सम्पर्क जसको जोसुकैसँग पनि हुनसक्छ । नरेश थापाले अपराध गरेको ठहरिए उनी पनि कानुनी दायरामा आउनुपर्छ ।

गृहमन्त्री बादलले पदीय दुरुपयोग गरेर भाइलाई सुनपानी छर्किन खोजेको भए यो अनुसन्धान अगाडि बढ्न सक्ने नै थिएन । तर, पनि गृहमन्त्रीलाई जबर्जस्ती यस विषयमा नकारात्मक भूमिकामा प्रस्तुत गर्न खोज्नु अर्को आपत्तिजनक अपराध हो ।

सत्तामा रहनेले सत्ता र पदको दुरुपयोग गरेका हुन सक्छन् । जहानियाँ राणा, शाही, पञ्चायती र बहुदलकालीन कयौं नेता र मन्त्रीले गरेको पदीय दुरुपयोगकै कारण यतिबेला सत्तामा रहनेहरुले पदीय दुरुपयोग गरेकोमा नागरिक बढी विश्वस्त छन् ।

भर्खरै एनसेलबारे सर्वोच्च अदालतले गरेका फैसला, विवादास्पद व्यापारी/माफियासँग मिलेर अन्य कयौं घोटाला प्रकरणमा सत्ताको दुरुपयोग गरिएको आम विश्वास छ । कांग्रेस, तत्कालीन एमाले, राप्रपा मात्र होइन, माओवादी आन्दोलनकै नेतृत्व गरेका कतिपय नेता र उनीहरुका परिवारले पनि पदीय दुरुपयोग गरेका विषय सार्वजनिक भए । ती घटनाकै निरन्तरतामा कतिपयले गृहमन्त्रीलाई जोड्ने चेष्टा गरेका छन् ।

यथार्थमा यो असाध्यै आग्रहप्रेरित योजनाबद्ध प्रचार हो भन्नेमा कुनै शङ्का रहन्न । यसअघि कुनै पनि नेता वा मन्त्रीले आफ्नो परिवार वा नातागोता अहिलेसम्मको अनुुसन्धानमा फोनमा मात्र जोडिएका यस्ता विषयलाई ‘डिसमिस’ गर्न सहजै पदीय दुरुपयोग गर्थे र गरेका दृष्टान्त छन् ।

आफन्त जोगाउने मात्र होइन पदीय दुरुपयोग गरेर गलत धन्दामा प्रोत्साहित गर्ने यस्तो परम्परालाई गृहमन्त्री बादलले पनि निरन्तरता दिऊन्, जसका कारण आफ्ना अवैध धन्दालाई मन्त्री वा नेताका परिवारमार्फत् निरन्तरता दिन सकियोस् भन्नेहरु यतिबेला सबैभन्दा मूर्छित बनेका छन् ।

नेता वा मन्त्रीका परिवारका सदस्यमार्फत् गलत धन्दा सञ्चालन गर्दै आएकाहरु आफ्नै भाइलाई नछाड्ने गृहमन्त्रीबाट यतिबेला सबैभन्दा बढी असुरक्षित महसुस गरिरहेका छन् । खराब काम गर्ने आफ्नै भाइलाई गृहमन्त्रीले छाडेनन् भनेर राम्रो काम सुरु गरेकोमा बादललाई स्याबास दिनुको सट्टा किन उनका विरुद्ध जेहाद छेडिएको हो ? यो बुझिनसक्नुको विषय बनेको छ । स्मरणीय यो छ कि माओवादी जनयुद्धमा संलग्न थुप्रै नेता परिवारकै कारण शान्ति प्रक्रियामा आएपछि विवादित बने । गृहमन्त्री रामबहादुर थापा बादल जनयुद्धकालदेखि आजसम्म आर्थिक मामलामा विवादमुक्त थोरै माओवादी नेतामध्येका एक हुन् ।

यतिबेला नेपाली समाजले शुद्धीकरणको माग गरेको छ । नेताहरुको भनाइ र गराइमा विरोधभाष भएको आमगुनासो छ । राम्रोलाई राम्रो भन्नेभन्दा हाम्रोलाई राम्रो भन्ने महारोगबाट नेताहरु मुक्त छैनन् । गृहमन्त्री बादलले आफ्नो भाइमाथिको अनुसन्धानलाई रोक्न कुनै दवाव नदिएर राजनीतिक नेतृत्वबाटै शुद्धीकरण अभियानको सङ्केत गरेका छन् । आदर्श, निस्ठाको राजनीति हराइरहेको यो बेलामा उनी वास्तवमा अनुकरणीय नेता हुन । यसलाई अन्य नेतृत्वले आउँदा दिनमा आत्मसात् गर्छन् कि गर्दैनन् यो परीक्षाको विषय बनेको छ । – झिल्काे डटकमबाट