
पहिरोले पुरिएर आमा छोराको ज्यान गयो, ४ बेपत्ता
रोल्पामा पहिरोले पुरिएर आमा छोराको ज्यान गएको छ । चार जना बेपत्ता भएका छन् ।
बिहिबार राति आएको पहिरोमा परेर थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए । उनी भन्छन्, ‘पुरिएको घरमा चार जना पाहुना पनि आएको भन्ने सुनेका छौं, उहाँहरू कता जानु भयो यकिन छैन ।’
थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको जानकारी दिए ।
