“भिजन २०२० एण्ड वियोन्ड”को कार्यन्वयन नै मेरो मुख्य जिम्मेवारी हो : कुमार पन्त

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ

गैरआवासीय नेपाली संघ ( एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एण्ड वियोन्डको एजेण्डा नै अबको मुख्य कार्ययोजना भएको बताउनुभएको छ ।

एनआरएनए युकेको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पन्तले भिजन २०२० को कार्यान्वयन नै आफ्नो मुख्य कार्ययोजना भएको बताउनुभएको हो । “धेरै साथीहरुको प्रश्न छ, अबको तपाइको मुख्य कार्ययोजना र मुद्दा के हो? पन्तले भन्नुभयो, “ मैले भन्ने गरेको छु, मेरो अथवा कुनैपनि अर्को साथीको मुद्दा भन्ने कुरै छैन, अब एउटा मुद्दा छ हामीले बोक्नुपर्ने, त्यो हो निवर्तमान हुँदै गर्दा शेष घले ज्यूले अघि सार्नुभएको भिजन २०२० एण्ड वियोण्डको जसलाई कार्यन्वयन गर्नु हो अबको हाम्रो कार्ययोजना हो । जसमा सबै कुरा समेटिएका छन् ।”

गैरआवासीय नेपाली संघको प्राथमिकतामा रहेको सम्पूर्ण विषय भिजन २०२० एण्ड वियोन्डकै एजेन्डा भएको उल्लेख गर्दै पन्तले भन्नुभयो, “हामीले लगानीको कुरा, च्यारिटीको कुरा गछौँ, नागरिकताको कुरा गछौँ, श्रमिकको हक हितको कुरा कल्याण कोषको कुरा, महिला र युवा सबैको कुरा त्यसैसँग जोडिएको छ ।” स्थानअनुसार फरक–फरक रुची र एजेण्डा भएपनि ती सबैलाई भिजन २०२० ले नै सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पन्तले त्यसको कार्यन्वयन अाफ्नाे जिम्मेवारी भएको बताउनुभयो ।