
चिनिया राष्ट्रपति सी नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ असोज ८ मा आउने
चिनियां विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएको छ । चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारीको लागी चिनियां स्टेट काउन्सिलर समेत रहेका विदेशमन्त्री वाङ दुई दिने भ्रमणमा लागी काठमाडौं आउने निश्चित भएको हो । वेइजिङस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री वाङ असोज ८ र ९ गते नेपाल भ्रमणा आउने कार्यक्रम तय भएको हो ।
विदेशमन्त्री वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग भेटवार्ता गर्ने तय भएको छ । तर यस विषयमा नेपालको परराष्ट मन्त्रालय श्रोतले भने केही बताउन चाहेको छैन ।
परराष्ट्रमन्त्री ज्ञवालीले गत १८ असारमा चिनियां समकक्षी वाङ यीसंग भेटवार्ता गरेका थिए । ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आपसी सहयोग बढाउने बारेमा छलफल भएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।
वाङको भ्रमण चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको लागी हुन लागेको बुझिएको छ । चिनियां राष्ट्रपति सी जिनफिङ अक्टोम्बर १२ मा तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् । फर्कदा उनले नेपालको भ्रमण गर्ने गरी तयारी भइरहेको परराष्ट्र स्रोतको दावी छ ।
