कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने पर्यटन मन्त्रीकाे घाेषणा

मूलखबर संवाददाता
काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने बताउनुभएकाे छ ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार उद्घाटन गर्दै उहाँले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्नुभयो । त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराउनु भएको छ ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराउनु भएको छ ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको जानकारी गराउँदै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिनुभयो ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटीभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले विमानस्थल देशको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु अनुशासित हुनुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन  यो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले ६ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रममा विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी छन् ।