बन्द रहेका उद्योग तथा करखाना सुचारु गरिन्छ- उद्योग मन्त्री यादव

मूलखबर संवाददाता
रौतहट, १४ भदौ

उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मात्रिका यादवले बन्द रहेका उद्योग तथा करखाना सुचारु गर्ने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार आयोजित नेपाल इँट्टा उद्योग महासंघको ११ औँ साधरण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री यादवले यस्तो बताएका हुन्।

विगत लामो समयदेखि बन्द रहेका देशका विभिन्न ठूलाठूला उद्योग संचालनमा ल्याउने सरकारको नीति भएको बताँउदै मन्त्री यादवले प्रदेश २ सरकारले कब्जा गरेर बसेको जनकपुर चुरोट कारखाना पनि संचालन गर्ने तयारीमा सरकार जुटेको बताए। मन्त्री यादवले अर्को प्रसंगमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहयात्री भएको बताए।

उनले विभिन्न किसिमका आन्दोलनमा सहकार्य गदै आएको कांग्रेस अहिले पनि सहयात्री नै भएको बताएका हुन्। विकाश तथा आर्थिक समृद्धिको यात्रामा कांग्रेससँग सहयकार्यको आवश्यकता रहेको औँल्याउँदै उनले भने, ‘पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्नु पर्छ, प्रतिपक्षमा रहेर विरोधभन्दा पनि समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नु नै देशको हित हुन्छ।’ उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याका बारेमा सहकार्य, बहस र छलफलको माध्यमबाट सामधान गर्नुपर्ने मन्त्री यादवको धारणा छ।

पुराना ऐन/कानुन उद्योगका लागि बाधक भए सच्चाउन वा परिमार्जन गर्न सकिने बताउँदै उनले भने ‘इँट्टा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले वातावरणको बाधक भएको छ। तुरुन्त नयाँ प्रविधिमा जानुपर्छ। त्यसमा कुनै समस्या आए म सहयोग गर्न तत्पर छु।’ ‘धुवा तथा प्रदूषण मुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापना हुनु आजको आवश्यकता हो। इँट्टा उद्योगलाई व्यवस्थित गर्न खोजेकाले आतंकित गर्ने उद्देश्य छैन’ मन्त्री यादवले थपे।