एकीकरण सकियो अब राष्ट्रिय अभियान सञ्चालन गरिन्छ- प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण करिब सकिएको बताउँदै अब राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । पार्टी विधिमा चल्ने र विधि अनुसार नै कार्ययोजनाहरु निर्माण गरिएको बताउँदै प्रचण्डले पहिले एकताको काममा ढिलाई हुँदा केही निराशा छाएको भएता पनि पछिल्ला दिनमा एकता सकिँदै जाँदा एक खालको उत्साह आएको प्रतिक्रिया दिनुभयो ।
आफ्नै निवासमा मूलखबरसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो – पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने र देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरिएको उल्लेख छ ।
अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्धारा सञ्चालित विकास, सम्बृद्धि र सामाजिक न्याय सहितको महाअभियानसँग जोड्ने गरि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’
आफ्नै पंक्तिलाई क्रियाशील गराउने, सरकारका कामका बारेमा प्रचार गर्ने र जनतामा उत्साह जगाउने तथा परिवर्तनविरोधीहरुले छरेका भ्रमको चिरफार र वैचारिक प्रतिरोधका लागि शक्ति प्रदर्शन सहित अभियान सञ्चालनको तयारी गरिएको प्रचण्डको भनाई छ ।
पार्टी एकता निश्कर्षमा नपुग्दा र नेता कार्यकर्ताहरु निश्क्रिय बन्दा आफूहरुले चामल विकाउन नसकेको र अरुले पीठो बेचीरहेको बताउँदै प्रचण्डले परिवर्तन विरुद्ध भएका सबै गतिविधिको प्रतिकार गरिने पनि बताउनुभयो । उहाँले त्यसमा कार्यकर्ताको दोष नभएको र आफूहरु मुख्य नेतृत्वकै दोष रहेको बताउनुभयो ।
आफ्नै नेतृत्वमा संविधानसभाको निर्वाचनमार्फत परिवर्तनका एजेण्डा स्थापित गरिएको बताउँदै यतिवेला मुख्य गरेर गणतन्त्र उल्ट्याउने सपना देखेर भएका गतिविधिप्रति प्रचण्डले कडा आपत्ति जनाउनुभयो । आफ्ना विरुद्ध भएका कु प्रचारहरु पनि गणतन्त्र विरुद्ध नै गरिएको दावी गर्दै प्रचण्डले आफू गण्तन्त्र स्थापनाको नायक भएकैले त्यसरी कुप्रचार गरिएको बताउनुभयो ।
प्रचण्डलाई ढाले मात्रै गणतन्त्र ढाल्न सकिने र प्रचण्डलाई कमजोर बनाउँदा मात्रै गणतन्त्र कमजोर हुन्छ भन्ने प्रतिक्रियावादीको निश्कर्ष रहेको उहाँको भनाई थियो । त्यसै अनुसार कहिले दुबइमा दिवंगत छोरा प्रकाशको नाममा पैसा राखेको भन्ने प्रचार गरिएको र कहिले चितवनमा शालिकराम पुडासैनीको आत्महत्यामा प्रचण्डको नाम जोड्ने गरिएको उहँको भनाई थियो । उहाँले ती प्रचारवाजीले आफू र आफ्नो परिवारलाई केही पीडा दिने भएता पनि मूल रुपमा गणतन्त्र विरद्धको प्रहार नै भएकोले त्यसलाई सबैले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशन दिएको छ ।
तर सार्वजनिक रुपमा नेतृत्व र नीतिको बिरोध गर्न बन्देज लगाएको छ । आन्तरिक सर्कुलरमा भनिएको छ–पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’