८० लाख रुपैयाँँकाे अटोक्लेभ मेसिन  ४ करोडमा खरिद गर्ने स्वास्थ्य सचिवदेखी मन्त्रीसम्मलाई कार्वाही सिफारिस

मूलखबर संवाददाता
काठमाडौं, १२ भदौ

 पण्डितका यी दुई कम्पनीले भित्र्याउने उपकरण उत्पादक कम्पनीसँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाउने र अरुलाई टेण्डरमा भाग लिनै नसक्ने गरी सेटिङ गरी ४० लाखको मेसिनलाई २ करोडमा खरिद गरिएको तथ्य यस अघि नै सार्वजनिक भइसकेका छन् ।

उपकरण खरिदमात्र होइन, देशभरका सरकारी अस्पतालको उपकरण मर्मतको टेण्डर पनि पण्डितकै कम्पनीलाई दिने गरिएको छ । महालेखा परीक्षकका विगत दुई बर्षका बार्षिक प्रतिवेदनमा उपकरण मर्मतका नाममा ठूलो भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

पछिल्लो महालेखाका प्रतिवेदनमा उपकरण मर्मतमा १० करोड रुपैयाँ अनियमितता भएको उल्लेख छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट काठमाडौं उपत्यका बाहेकका ७२ जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाका उपकरण मर्मत–सम्भारका लागि ३ प्याकेजमा भएको काममा १० करोड अनियमितता भएको तथ्य महालेखाले सार्वजनिक गरेको हो ।

स्पेसिफिकेसन नै पण्डितको अनुकूल बनाएर उपकरणको ठेक्का दिनेदेखि मर्मतको ठेक्का दिने कार्यमा स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीदेखि स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि संलग्न हुने गरेको आरोप छ ।
पहिला सचिव चौधरीलाई मात्र हातमा लिएका पण्डितले पछिल्लो पटक मन्त्री यादव र राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि हातमा लिएर उपकरण सप्लाईदेखि मर्मतका काममा पनि एकाधिकार पाएका छन् । टेण्डर देखाउनका लागि मात्र हुने गर्दछ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै उपकरण सप्लाई पण्डितलाई नै दिने पहिले नै तय भइसकेको हुन्छ ।

उनको कम्पनीले मात्र आपूर्ति गर्न पाउने भएपछि ४० लाखको उपकरणलाई २ करोड रुपैयाँ मूल्य राखे पनि खुरुखुरु भुक्तानी दिइन्छ । स्वास्थ्य मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मलाई ५० प्रतिशत कमिसन राखेपछि उनले राज्यकोषबाट ब्रम्हलुट गर्ने छुट पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चौधरीकै निर्देशनमा स्वास्थ्य सेवा विभागले १२८ स्लाइसको सीटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिद गरेको छ ।

यी उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयका सचिव चौधरीले नै हस्तक्षेप गरी पण्डितलगायतका ठेकेदारहरूलाई बोलाएर सेटिङ गरेको आरोप छ । मन्त्री यादवका पुत्र दिपेश यादव, राज्यमन्त्री सुरेन्द्र यादव, सचिव चौधरी, उनका पीए सोभित रिजाल र सुरेन्द्र चौरसियाको डिजाइनमा हस्पिटेक, बायोमेड र ग्लोबललाई मिल्ने गरी स्पेक बनाइएको स्रोतको दाबी छ ।

उदाहरणका लागि ४० लाखमा पाइने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान २ करोडमा खरिद गरिएबाटै स्वास्थ्य मन्त्रालयमा हुने गरेको उपकरण खरिदको डरलाग्दो पाटो उजागर गरेको छ ।
४० लाखको उपकरण २ करोडमा सप्लाई गर्ने विशाल पण्डितले मन्त्री उपेन्द्र यादवका छोरा दिपेश यादव, राज्यमन्त्री सुरेन्द्र यादव, उनका पीए सञ्जय यादव, स्वास्थ्य सेवा विभागका महानिर्देशक सुशीलनाथ प्याकुरेललाई हालै चीन घुमाएर ल्याएका छन् ।

त्यस्तै सिंहदरवारको राष्ट्रिय अनुसन्धान विभागका गतिबिधिदेखि सबै देखिने गरी पण्डितले निर्माण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालयसँगैको होटलको बारेमा पनि सरोकारवाला निकायमा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाले त्यति अग्लो मापदण्डबिपरीतको होटलको नक्सा कसरी पास ग-यो ? नक्सापास गर्नेमाथि कारबाही हुनुपर्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको छ ।

धादिङका पण्डितले ४० लाखमा पाइने मेसिन २ करोड रुपैयाँमा मन्त्रालयलाई आपूर्ति गरी ३ सय प्रतिशत भन्दा बढी मुनाफा गरेकाले उनीमाथि कालोबजारीमा पनि कारबाही हुनुपर्ने उजुरीमा उल्लेख छ । साथै पण्डितको सम्पत्ति समेत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट छानबिन हुनुपर्ने उल्लेख गरिएको छ ।

२१ जेठमा मुलुककै सबैभन्दा पुरानो राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) द्धारा सञ्चालित वीर अस्पतालले इन्टेन्सिटी मोडुलेटेड रेडियसन थेरापी (आईएमआरटी) गर्न सकिने टोमोथेरापी मेशीन खरीदको प्रस्ताव आह्वान ग-यो । ४० करोड पर्ने यो मेशीन केही समयभित्रै अस्पताल भित्रिंदैछ ।

गत आर्थिक वर्ष २०७३/७४ मा ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २४ करोड ४७ लाखमा विभिन्न मेडिकल उपकरण खरीद ग¥यो । जसमा १६ करोड २५ लाख पर्ने एमआरआई (१.५ टेस्ला) मुख्य थियो । अघिल्लो आवमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पनि क्रमशः १५ करोड र ११ करोड खर्चेर उही एमआरआई (१.५ टेस्ला) नै खरीद गरे । यी तिनै संस्थालाई उपकरण उपलब्ध गराउने ठेक्का पाउने कम्पनी थियो– लाइफलाइन ट्रेड प्रालि ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयमा उपकरण र मेसिन खरिदमा ठूलो भ्रष्टाचार भएको उल्लेख गरिएको विषयले व्यापक चर्चा पाएको थियो । धेरैले ठानेका थिए कि अब स्वास्थ्यभित्र आर्थिक सुशासन थोरबहुत कायम हुनेछ । तर, नतिजा भने ठिक उल्टो देखिएको छ ।

सचिव चौधरीको डिजाइनमा ४० लाखमा पर्ने अस्पतालको फोहोर ब्यवस्थापन गर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ मेसिन २ करोड रुपैयाँमा खरिद गर्नका लागि हस्पिटेकसँग मिल्नेगरी स्पेक बनाउन निर्देशन दिएको स्वास्थ्य सेवा विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार अटोक्लेभ मेसिन २ थानको ८० लाख रुपैयाँमा आउने भए पनि ४ करोड रुपैयाँमा हस्पिटेकसँग खरिद गर्न लागिएको छ ।
यसअनुसार विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजले ४० लाख पर्ने मेसिनलाई २ करोडमा सप्लाई गर्न लागेको छ ।

इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ मेसिन जम्मा दुई थानलाई प्रतिथान ४० लाखका दरले बजारमा ८० लाख भन्दा बढि पर्दैन । तर, स्वास्थ्य सेवा विभागले सेटिङमार्फत ४ करोडमा लिएको छ । जसको सम्झौता गत ३१ गते गरिएको छ । यस हिसाबले ८० लाखको मेसिन लिँदा व्यापारीलाई ३ करोड २० लाख नाफा दिइएको छ भने राज्यको सवा तीन करोड रकम सोझै घोटला गरिएको छ । यसरी अनियमितता हुन लागेपछि सोबारे छानबिन र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिसकेको बुझिएको छ ।

यो सेटिङमा स्वास्थ्यसचिव पुष्पा चौधरी, पूर्व डिजी गुणराज लोहनी, निर्देशक रमेश अधिकारी, आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसिया, वायोमेड इञ्जिनियर पद्मा मिश्रा जोडिएका छन् । साथै, नेकपाका वरिष्ठ नेता माधव नेपालका ज्वाईं नाताका विशाल पाण्डे पण्डितका पार्टनर भएको बुझिएको छ । विशाल पाण्डे कुनैबेला आफैलाई भ्रष्ट भन्दै कारवाहीका लागि अख्तियारसँग गुहार मागेर चर्चामा आएका पूर्वमन्त्री हरि पाण्डेका छोरा हुन् ।

त्यसैगरी, अल्ट्रासाउन्ड मेसिन बायोमेड इन्टरनेशलनका चेतन अग्रवालसँग २ थान ५ करोडमा खरिद गर्न लागिएको छ । विनासेटिङ स्वस्थ प्रतिस्पर्धा हुने हो भने अल्ट्रासाउन्ड मेसिन १ करोड ५० लाख रुपैयाँमा आउँछ । २ थान अल्ट्रासाउन्ड मेसिन प्रतिस्पर्धा गराएको भए ३ करोड मूल्यमा विभागले पाउने थियो । तर, सचिव चौधरीको सेटिङमा स्पेक नै बायोमेडले भित्र्याउने उत्पादक कम्पनीसँग मिल्ने गरी बनाइएको छ । यसबाट स्वास्थ्यका उच्चाधिकारीहरू भ्रष्टाचारमा कसरी लिप्त रहेका छन्, भन्ने प्रष्ट देखिन्छ ।

त्यस्तै २ करोड ५० लाखमा प्राप्त हुने सिटीस्क्यान मेसिनलाई ४ करोड मूल्यमा खरिद गर्ने सेटिङ भएको छ । सीटीस्क्यान मेसिनको ठेक्का तोसिभासँग मिल्नेगरी स्पेक बनाइएको छ । तोसिभा ग्लोबल र मेडिट्रोन केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसनका अध्यक्ष धिरज थपलियाको कम्पनी हो ।

गत वैशाख २० मा अस्पतालका उपकरणहरुको २ करोड बराबरको ठेक्का सचिव चौधरीका पीए रिजालका आफन्त पोष्टराज ज्ञवालीको लुम्बिनी हेल्थकेयर प्रालि र नेपाल ट्रेड कन्सर्नलाई दिइएको थियो । सचिव चौधरी, चौरसिया र रिजालको टोलीले बायोमेड इन्जीनियर पद्मा मिश्रलाई पनि सेटिङमा समावेश गर्दै आएको स्रोत बताउँछ । जुन टीममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी पनि समेत सामेल रहेको मन्त्रालयभित्रै चर्चाको विषय बन्दै आएको छ ।

यसरी सचिवलगायतका उच्चाधिकारीहरूसँग सेटिङ मिलाएर स्वास्थ्य सम्बन्धी उपकरण सप्लाई गरी राज्यलाई करोडौं चुना लगाउँदै आएका विशाल पण्डितले काठमाडौंको सिडिओ कार्यालयसँगै भब्य होटल निर्माण गरिरहेका छन् । सिंहदरबारको आडैनजिक भएकोले उक्त होटल सुरक्षाका हिसाबले निकै संवेदनशील रहेको यथार्थलाई नजरअन्दाज गरी काठमाडौं महानगरपालिकाले  कसरी नक्सा पास तथा निर्माणको अनुमति दियो ? गम्भीर प्रश्न उब्जिएको छ ।  (यूनाइटेड पोस्ट साप्ताहिक )