शुरु भयो सिंगापुरमा प्रधानमन्त्रीको उपचार, अवस्था सामान्य

मूलखबर संवाददाता
काठमाडौं, ८ भदौ ।

उपचारको लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइने चिकित्सकले जनाएका छन् ।

चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।

मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गर्नुभएको थियो । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विभिन्न् अड्कलबाजी र प्रचारवाजी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीको स्वास्थ्यबारे सचिवालयले आधिकारीक जानकारी गराउँदै स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो ।