गोरखा : काँग्रेस र समाजवादीका २०० बढी नेता कार्यकर्ता नेकपा प्रवेश

मूलखबर संवाददाता
गोरखा, भदौ 
जिल्लाको शहिद लखन गाउँपालिका वडा नंं.९ मा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र समाजवादी पार्टी छोडी २०० जना भन्दा बढीले नेकपा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा समाजवादी पार्टीका नामजुङ अध्यक्ष रामकुमार श्रेष्ठ तथा स्थानीय तहका अध्यक्षका उम्मेदवार, नेपाली काँग्रेसका वागी उम्मेदवार लगायत रहेका छन् ।
साविक नामजुङलाई कम्युनिष्ट नमुना क्षेत्र बनाउनका लागि सबै एकजुट भएको बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नंं. १ का साँसद हरिराज अधिकारी,नेकपाका केन्द्रिय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेत लगायतले अविरमाला लगायर स्वागत गरेका थिए । साँसद अधिकारीले नेपालको विकासका लागि नेकपा बाहेक अर्को विकल्प नभएको बताए ।
आफू साँसद हुनुअघि र भएपछिको निर्वाचन क्षेत्रलाई दिन गनेर मुल्याङ्कन गर्न आग्रह गर्दै बाँकी समय भित्र यो क्षेत्र नमुना हुने बताए । आफ्नो निर्वाचन क्षेत्रमा भएको विकासको सम्भावना प्रचुररहेको र त्यसले छिट्टै मुर्त रुप लिने उनले बताए । गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले अव शहिद लखन गाउँपालिका आउनेहरुले हिलो माटोमा टेक्नु नपर्ने बताए ।
कालोपत्रेमा ढुक्कसँग हिड्न पाउनुहुन्छ भन्दै आवश्यक वजेट विनियोजन गर्ने उनले बताए । कार्यक्रममा कृष्ण धिताल, प्रेम गुरुङ,मनोज जोशी, रमेश थापा मगर लगायतले मन्तव्य राखेका थिए । नेकपा नामजुङका अध्यक्ष भूमिनन्द ढकालको अध्यक्षतामा भएको कार्य क्रम विष्णु काप्रीले सञ्चालन गरेका थिए ।