एनअारएनए विश्व सम्मेलनकाे मिति सर्याे, अब अक्टाेबर १५ देखि, काे काे घाेषणा गरे उम्मेदवारी ?

मूलखबर संवाददाता
काठमाडौं,५ भदौ

गैर अावासिय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदकाे विश्व सम्मेलनकाे मिति परिवर्तन भएको छ ।

यसअघि एनआरएन विश्व सम्मेलन अक्टोबर १३ देखि १५ सम्म गर्ने निर्णय भएको थियो । तर सो सम्मेलनको क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द नेपालको भ्रमणमा आउने तयारी भएकाले नेपाल सरकारकै आग्रहमा सम्मेलन २ दिन पर सार्ने निर्णय भएको डि बि क्षेत्रीले जानकारी दिनुभयाे । अब सम्मेलन अक्टाेबर १५ देखि मात्रै शुरू हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द नेपाल भ्रमणमा आउन लागेको बताइएको छ । सम्मेलन काठमाडौको होटल हायातमा गर्ने तय भएको छ ।

एनआरएनको विश्व सम्मेलन आउन करिब ५३ दिन बाँकी रहँदा नेतृत्वमा दौडधूप तीब्र भएको छ । यस विश्वसम्मेलनमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी नदिने घोषणा गरेसँगै उपाध्यक्षद्वय कुमार पन्त र कुल अाचार्य नेतृत्वको तीब्र दौडमा लागेका छन् ।

उनीहरुले आफ्नो चुनावी अभियानलाई तीब्रता दिँदै भेटघाट र छलफललाई तीब्रता दिएका छन् । पन्तले वामपन्थी खेमा र अाचार्यले काँग्रेस खेमाकाे पक्षबाट उम्मेदवारी  पाउने सम्भावना देखिएको छ ।

संघको आगामी महाधिवेशनमा ठूलो संख्यामा उपाध्यक्षको लागि निर्वाचन हुने छ । १ महिला उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष पदमा निर्वाचन हुनेछन् । यस्तै महासचिव १ , सचिव २, कोषाध्यक्ष र सहकोषाध्यक्ष १, क्षेत्रीय संयोजक ५, उपसंयोजकहरु, युवा र महिला संयोजकको लागि संघको महाधिवेशनमा निर्वाचन हुने छ ।

यो पटक उपाध्यक्ष पदमा वर्तमान महासचिव डा. बद्री केसी, सोनाम लामा, आरके शर्मा, किरणविक्रम थापा, नरेन्द्र भाट, हिक्मत थापा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, लगायतको उम्मेदवारी पर्ने बताइएको छ ।  महासचिवमा जानकी गुरुङ, डा हेमराज शर्मा, डिबी क्षेत्री, केशव पौडेललगायतको दाबी छ । सचिवमा गौरीराज जोशी, शिव वरुवाल र विनय अधिकारीले दावी गरिसकेका छन् भने कोषाध्यक्षमा महेश श्रेष्ठ, सोम सापकोटाले उम्मेदवारी दिने बताएका छन् । त्यसैगरि सह काेषाध्यक्षमा वेल्जियमका निवर्तमान अध्यक्ष लाेक दाहालले उम्मेदवारी घाेषणा गरेका छन् ।