नेकपा सचिवालय बैठकका निर्णय : आगामी बैठक प्रचण्डको अध्यक्षतामा, प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभको कामना
नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आजै सिंगापुर जादै हुनुहुन्छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८÷१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिनुभयो ।
एकताको प्रक्रिया अन्तिम चरणमा पु¥याएको नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ।
प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भएपनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो । सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्नुहुने भएको छ । बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।