पहिलो सर्वदलिय बैठक सौहार्दपूर्ण, एकता र सहकार्यमा प्रधानमन्त्रीको जोड

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ

प्रधानमन्त्री के पी ओलीले सबै दलहरुबीच सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाक्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले हिजो सबै मुद्धाहरुमा सहकार्य गरेका दलहरु अहिले राष्ट्र निर्माणको चरणमा थप एकतावद्ध भएर सहकार्य गर्नुपर्ने बताउनुभएको हो । बालुवाटारमा साँझदेखि बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता समेत जनाउनुभएको थियो ।

बैठकमा शान्ति प्रक्रियाको बाँकी काम बारेमा पनि छलफल भएको थियो । वेपत्ता आयोग र सत्य निरुपण आयोगमार्फत द्धन्द्धकालिन मुद्धाको किनारा लगाउने तथा ती आयोगलाई पूर्णता दिने सहित बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा लान दलहरू सहमत भएका छन्। हिंसात्मक गतिविधि गरेको भनिएको नेत्रविक्रम चन्दसहितका समूहसँग पनि वार्ता थाल्नुपर्नेमा दलहरू सहमत भएका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियो । ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ। समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्धृत् गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मुख्यतः तीनवटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो।’

प्रधानमन्त्रीले गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको बताउँदै विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले देशमा हिंसात्मक गतिविधि हुन नदिन सबै एक भएर अघि बढ्न अपील गर्नुभयो । शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन प्रधानमन्त्रीले भन्नुभयो यस्तो गतिविधि नहोस भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुको विकल्प छैन।

प्रधानमन्त्रीले बोलेपछि प्रमूख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै ‘गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि एकताबद्ध रहेको दोहोर्याउनुभएको थियो ।

बैठकमा सहभागि दलहरु शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्न र देशमा फेरि हिंसा हुन नदिन एकजुट हुने कुरामा सहमत भएका श्रेष्ठले जानकारी दिनुभयो । आवश्यकता परे वार्ता पनि गर्नुपर्छ भन्ने निचोड निस्केको छ’, दलहरुको छलफलको निचोड उल्लेख गर्दै श्रेष्ठले भन्नुभयो ।

त्यसैगरी हिजो विस्थापित भएकै शक्तिहरू अहिले चलखेलमा लागेको निचोड पनि सर्वदलीय बैठकले निकालेको छ । हिजो जुन शक्ति र तत्त्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो’, श्रेष्ठले भन्नुभयो ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो निचोड होइन। तर केही खतरा भएको भन्ने हाम्रो निचोड रह्यो।’

त्यसैगरी बैठकमा प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो स्वास्थ्य अवस्था जटिल नरहेको जानकारी दिइएको थियो । राजनीतिक पार्टीका नेतालाई प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो स्वास्थ्य गम्भीर नरहेको बताउनुभयो’, श्रेष्ठले भन्नुभयो ‘डाक्टरहरूले दिएको सुझाव अनुसार पर्सी प्रधानमन्त्री सिंगापुर जाने बताउनुभएको छ। सबै नेताहरूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभयो।’

प्रतिपक्षीले के भन्यो

बैठकपछि बाहिरिँदै कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको बताउनुभयो । ‘विधेयकबारे हामीले प्रश्न उठायौँ। सच्याउनुपर्ने कुरा सुधार गर्नु जरुरी छ’, उहाँले भन्नुभयो ‘प्रधानमन्त्री आफैँले शक्ति हातमा राखेको कुरा उठायौँ। उहाँले हाम्रा कुरा नकारात्मकरूपमा लिनु भएन।’

प्रधानमन्त्री भएपछि पहिलो पटक बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि सकारात्मकरूपमा प्रस्तुत भएको सिटौलाले जानकारी दिनुभयो । ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुरा भएको छ’, प्रधानमन्त्रीका कुरा कांग्रेसले पनि सकारात्मक लिएको उहाँको भनाई छ ।