प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक : यस्ता छन् एजेण्डा

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाक्नुभएको हो । प्रधानमन्त्रीले बैठक डाक्नुलाई सबै दलले सकारात्मक रुपमा लिएका छन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किनुभएको थियो । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उहाँ फेरि त्यसतर्फ जाँदै हुनुहुन्छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे केही नबताएको भनेर सार्वजनीक टिप्पणी आएका थिए । । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन ।

खासगरी १४ मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा पनि छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ । शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष रहेको दुवै आयोग गत फागुन महिनादेखि पदाधिकारीविहीन छन् । आयोगमा राजनीतिक भागबण्डामा नियुक्त गरिने र काम गर्न नसकेको भन्ने आरोप लाग्ने गरेको छ ।