भलिबलमा नेपालको खराब शुरुवात, किर्गिस्तानसँग पराजित

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ

एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयो।

पहिलो सेट २५-२३ ले गुमाएको नेपाल दोस्रो र तेस्रो सेटमा पनि समान २५-२३ अंकले पछि परेको थियो। शारीरिक रूपमा केही अग्ला खेलाडी रेहको किर्गिस्तानविरुद्ध नेपालको रिसिभ र ब्लकिङ कमजोर बन्यो। नेपाललाई हराएको किर्गिस्तान एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालको समूहमा किर्गिस्तान र माल्दिभ्स छन्। नेपालले अब समूहगत चरण पार गर्न अर्को खेलमा माल्दिभ्सलाई हराउनु पर्नेछ। नेपालले माल्दिभ्ससँग बुधबार खेल्नेछ। यसैगरी सोमबार नै भएको समूह ‘बी’को पहिलो खेलमा साविक विजेता तुर्कमिनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा हराएको छ। तुर्कमिनिस्तानले ३२-३०, १६-२५, २७-२५, २६-२४ को जित निकालेको थियो। समूह ‘बी’कै अर्को खेलमा उज्वेकिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा हरायो। उज्वेकिस्तानले २५-१६, २५-१६, २५-२३ को जित निकालेको थियो।

सात टोली सम्मिलित प्रतियोगितामा समूह ‘बी’मा साविकको तुर्कमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन्। लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता भदौ ७ सम्म सञ्चालन हुनेछ।-अन्नपूर्णपोष्टबाट