राष्ट्रिय सेवा दलले ७७ जिल्लाका करिब आठ हजारलाई तालिम दिन सुरु

काठमाडौं, २ भदौ

राष्ट्रिय विकासको अभियानमा युवा वर्गलाई सहभागिता गराउने उद्देश्यले राष्ट्रिय सेवा दलले ७७ जिल्लाका करिब आठ हजार प्रशिक्षार्थीलाई तालिम दिन सुरु गरेको छ ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श लिएको सेवा दलले ७७ जिल्लाका संस्थागत विद्यालयमा अध्ययनरत छात्राछात्रमध्ये यस वर्ष सात हजार सातसय जनालाई तालिमका लागि छनौट गरेको छ । जुनियर डिभिजनमा कक्षा ८, ९ र १० मा अध्ययनरत र सिनियर डिभिजनमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउँछन् ।

नेपाल सरकारको युवा विकास कार्यक्रमअन्तर्गत रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको संयुक्त पहलमा राष्ट्रिय सेवा दलले यो तालिमको शुरुवात गरेको हो । दलका महानिर्देशक उपरथि डा. रमिन्द्र क्षत्रीले उपत्यका काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेका गरी कक्षा ११ र १२ का एक हजार ८० र कक्षा ८, ९ र १० का ५४० जना प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो ।

महानिर्देशक डा. क्षत्रीका अनुसार, तालिममार्फत युवा जनशक्तिलाई अनुशासित, बफादार, ईमान्दार र जवाफदेही नेतृत्व दिन सक्ने देशभक्त नागरिक उत्पादन गर्ने लक्ष्य रहेको छ । उनीहरूले समाजमा राष्ट्रिय एकताको भावना जागृत गराउने र प्राकृतिक विपत्को जोखिममा परेकालाई उद्धार तथा राहतमा सहयोग गर्ने छन् ।

वि.सं. २०२२ देखि हालसम्म सिनियर डिभिजनतर्फ पाँच हजार ८९२ र जुनियर डिभिजनमा ३७ हजार ७४० जना गरी हालसम्म जम्मा ४३ हजार ६३२ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरेको प्रमुख सेनानी महेश्वर कार्कीले दिनुभयो ।
नेपाल सरकारले यस आर्थिक वर्षमा ७७ वटै जिल्लाका २१२ विद्यालयका गरी सात हजार सात सयजना छात्रछात्रालाई तालिममा सहभागी गराउने व्यवस्था गरेको छ । प्रमुख सेनानी कार्कीले तालिमको लक्ष्य नै युवाहरूलाई अनुशासित बनाउने, उनीहरूमा ईमान्दारिता तथा बफदारिताको भावनाको विकास गराउने र युवामा राष्ट्रियताको भावना विकास गर्ने रहेको बताउनुभयो ।
प्रशिक्षार्थीलाई संस्थागत ७९ र सामूहिक २१ गरी जम्मा एक सय लिनको तालिम प्रदान गरिने छ । तालिम दिँदा विद्यार्थीको अध्ययनलाई प्रभाव नपर्ने गरी तोकिएका विद्यालयमै गएर तालिम प्रदान दिइएको छ ।

तालिममा रहँदा सिनियर डिभिजनका युवाले शारीरिक तालिम अन्तर्गत तेक्वान्दो पि.टी., एरोबिक्स, ड्रिल, सैनिककला, नक्सा अध्ययन, जीपीएस अध्ययन, हतियार तालिम तथा फायरिङ, साहसिक तालिम लिने छन् ।
राष्ट्रिय सेवा दलको तालिममा उत्कृष्ट भएका प्रशिक्षार्थी छनौट गरी भारत १५, बङ्गलादेश १२, श्रीलंका २०, सिंगापूरमा १०, भूटान १२, माल्दिप्स चार, पाकिस्तान १२ जनालाई युवा आदान प्रदान कार्यक्रममा सहभागी गराइने छ । दलले तालिममा सहभागीलाई चुस्ता, ट्रयाक सुट, डाङग्री बुठलगायतका एक दर्जन सामग्री निःशुल्क विवरण उपलब्ध गराएको छ ।

यसैबीच, काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला शाक्यले ३६ (१८ छात्रा र १८ छात्र) जना विद्यार्थी सिनियर डिभिजनका लागि छनौट भएका र उनीहरूको आइतबारबाट तालिम सुरु भएको बताउनुभयो ।

तालिम सुरुवातका लागि आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वज थापाले अनुशासित र मर्यादित भएर तालिम पूरा गर्न सहभागी विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो । प्रमुख सेनानी महेश्वर कार्कीले तालिममा सहभागी हुनेहरूले पालना गर्नुपर्ने अनुशासन र दलबाट प्राप्त सहयोगका बारेमा जानकारी दिनुभएको थियो ।