नागरिकता खारेजीबारे बोले राजेन्द्र महतो
काठमाडौं,२० साउन । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ती जनाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार संञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उहाँले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराउनुभएको थियो । सोही विषयलाई लिएर आफु विरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उहाँले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मान हानी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “भ्रमको खेती सुरु भएको सम्बन्धमा म देश बासीलाई जानकारी गराउन चाहन्छु । हिजो मात्रै नेपाल सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकताको प्रमाणपत्र बदर गरिएको छ भनेर समाचार आएको छ । कुन राजेन्द्र महतो हो ? खै त ? राष्ट्रियता संग जोडिएको यस्तो संवेदनशील विषयमा नेपाल सरकारका प्रवक्ताले नेपाल सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत यति जनाको नागरिकता वदर गरिएको भनेर समाचार आउनु के हो त्यो ?”
महतोले आफ्नो मानहानी भएकाले सरकारले माफि माग्नुपर्ने दाबी गर्नुभयो ।