खानेपानी मन्त्रीद्वारा रसुवा ब्रान्डको पानीको सार्वजनिक, डिसेम्बरदेखि विदेश निर्यात गर्ने तयारी

काठमाडौं ।

नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्पृङ पानीको उत्पादन सुरु गरेको छ । 


खानेपानी मन्त्री बिना मगर लगायतका विशिष्ट व्यक्तिहरुले शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गर्नु भयो । 


लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिनुभयो । 

अध्यक्ष भण्डारीले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको बताउनुभयो । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ । 


नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । 
कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताउनुभयो । उहाँले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।


 “हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ ।” 
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौं भने देशलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने त्योभन्दा राम्रो देशको लागि अरु केही नहुने धारणा राख्नुभयो । 


नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन  र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताउनुभयो । 

कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।