युरोपमा एनअारएनकाे भेलामा कानुन मन्त्रीले भने- एकपटककाे नेपाली सधैंको नेपाली

काठमाडौं , १८ साउन –

कानुन तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकालले एनअारएनले उठाउँदै अाएकाे द्वैध नागरिकताकाे माग छिटो हल गर्न सरकार तयार रहेकाे सन्देश दिएका छन् ।

शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको उद्घाटन सत्रलाई इटालीको रोममा सम्बोधन गर्दै ढकालले नेपालको समृद्धि र विकासको अभियानमा सरकारले एनआरएनसँग सहकार्य गरेरअघि बढ्न चाहेको पनि बताए । 


‘स्वदेशी पुँजीले मात्रै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हाँसिल गर्न सकिँदैन’ ढकालले भने, ‘यसमा एनआरएनको भूमिका सहयोगी हुन्छ । लगानीमात्रै नभएर विदेशमा सिकेको सिप र ज्ञान पनि नेपालको विकासका लागि उपयोगी हुन्छ ।’
उनले नेपालमा विदेशी लगानी आवश्यक रहेको भन्दै त्यसमा सरकार र प्रमुख राजनीतिक  एकमत रहेकाले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे ।


कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको पनि उनले बताए ।
गतवर्ष सरकारबाट आयोजना गरिएको लगानी सम्मेलनमा १५ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको जानकारी दिँदै उनले त्यसमा  प्रगति भइरहेको पनि जानकारी दिए । उनले एनआरएनले खडा गरेको लगानी १० अर्बको लगानी कोषले नेपालमा लगानीका लागि वातावरण तयार गरेको समेत बताए । 


यस्तै उनले नेपाली नागरिकताको विषयमा एनआरएनको माग पूरा गर्न सरकार तयार रहेको पनि सम्बोधनका क्रममा बताए ।  उनल भने, ‘एकपटकको नेपाली सँधैको नेपाली, यसका लागि कानुन बनाउन पहल भइरहेको छ।’
यस्तै काँग्रेस नेता डा शेखर कोइरालाले प्राप्त उपलब्धिको रक्षाका लागि गैरआवासीय नेपालीले पनि दवाव दिनु जरुरी रहेको बताए । 


उनले अब सरकारमा रहेकाहरु निःस्वार्थरुपमा आर्थिक र सामाजिक विकासमा होमिने बेला आएको पनि बताए । 

कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, पर्यटन सचिव मोहन कृष्ण सापकोटा,स्वीटरल्याण्डका लागि नेपाली राजदूत तीर्थराज घिमिरेलगायतले एनआरएनको महत्व र नेपालको विकासमा संघले खेल्नसक्ने भूमिकाका विषयमा चर्चा गरेका थिए । 
शुक्रबारदेखि सुरु भएको एनआरएन युरोप क्षेत्रीय बैठकको औपचारिक उद्घाटन इटालीको राजधानी रोममा शनिबार गरिएको हो । 
बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको एनआरएन युरोपका अध्यक्ष शिव कुमार बरुवालले जानकारी दिए । 
स्थानीय इर्गिफ होटलमा  भएको औपचारिक उद्घाटन प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पानसमा बत्ती बालेर गरेका थिए। 

राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा  स्वागत मन्तव्य एनआरएन इटालीका अध्यक्ष दीपेश कुमार रेग्मीले दिएका थिए । यस्तै युरोप क्षेत्रीय अध्यक्ष बरुवालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै एनआरएन नेता तथा अतिथिलाई धन्यवाद दिए । 
‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ ।