
नेकपाका अध्यक्ष प्रचण्ड युएई प्रस्थान
काठमाडौंं , १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गर्नु भएको छ ।
अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गर्नु भएको हो । लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।
अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ ।
