सिटिईभीटीको काम चित्तबुझ्दो भएन : नेकपा महासचिव पौडेल

काठमाडौं, ३ साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पुर्व मन्त्री विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)को कामकार्वाहीप्रति असन्तुष्टि जनाउनु भएको छ ।

महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । सिटिईभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कार्वाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई सचेत गराउनु भयो ।

उहाँले सिटिईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटीईभिटीले मुलुकको राष्ट्रिय आवश्यक्ता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसमा गम्भिर भएर सोच्न पनि सिटीईभिटीका पदाधिकारीको ध्यानाकर्षण गराउँदै निर्देशन दिनुभयो ।