समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा हुनुपर्ने सासंदको माग
नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने धारणा राख्नुभएको छ ।
सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतहः बढुवा गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क पनि गर्नु भयो ।
विधेयकमा करिव २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ । सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरुको एक तह स्वतह बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा पेश गर्नु भयो । विधेयकमा २० हजार प्रहरी संघमा र करिव ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख गरिएको छ ।