प्रधानमन्त्री ओलीले दिए अवैतनिक महावाणिज्यदुतहरूलाइ यस्ताे निर्देशन
काठमाडौं, १२ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई बिहीबार विहान आफ्नै सरकारी निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकताको सेवा र सुरक्षाको उचित व्यवस्था गर्न पनि महावाणिज्यदुतहरुलाई सचेत गराउनु भयो । त्यसैगरी उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र« सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन । भेटमा प्रधानमन्त्री ओलीले अवैतनिक महावाणिज्यदुतले निर्वाह गर्दै आएको भूमिकाको पनि प्रशंशा गर्नु भएको थियो ।
नेपालले हाल १६६ वटा मुलुकमा कूटनीतिक सम्बन्ध कायम राखेको छ । त्यसमध्ये ३२ वटा मुलुकमा मात्रै नेपालले राजदुतावासको व्यवस्था गरेको छ भने अन्य मुलुकहरुमा अवैतनिक महावाणिज्यदुतहरुको व्यवस्था गरेको छ । ती महावाणिज्य दुतहरुको भूमिकालाई प्रभावकारी बनाउन पनि नेपालमा सो सम्मेलन आयाजना गरिएको हो ।
सम्मेलनमा मूलतः नेपालको आर्थिक विकासका लागि आवश्यक पूँजी र प्रविधि भित्रयाउने विषयमा विस्तृत छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।