भाचोकखोला खानेपानी आयोजना निर्माणमा किन ढिलाई ?

लमजुङ, ६ जेठ ।

बेँसीसहरस्थित भाचोक खोला खानोपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । असार मसान्तसम्म सक्ने गरी आयोजना निर्माणको सम्झौता भए पनि हालसम्म जम्मा ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजना २८ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले खानेपानी आयोजना निर्माणको जिम्मा लिएको महादेव खिम्ती पराजुुुली जेभीले निर्माणमा ढिलाइ गरेको बताए । साउन ०७४ बाट सुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्ने सम्झौता छ ।

निर्माण कम्पनीका सतीश पराजुलीले खानेपानी आयोजना निमार्णमा ढिलाइ भएको स्वीकार गरे । ‘रिभर क्रसिङ डिजाइन परिवर्तन, आयोजना सम्झौता, जग्गा खरिद, मस्र्याङ्दी नदीको पुल निर्माणमा ढिलाइ हुँदा आयोजना निर्माणमा ढिलाइ भएको हो,’ पराजुलीले भने ।

भाचोक खानेपानी आयोजना बेँसीसहरबाट भाचोक खोला उखुबारीसम्मको दूरी ६ किलोमिटर छ । हालसम्म आयोजनाको इन्टेकको काम सकिएको छ भने पानी प्रशोधन केन्द्रको काम ६५ प्रतिशत सम्पन्न भएको छ ।

आयोजना आठ लाख लिटर क्षमताको छ । आठ लाख लिटर क्षमताका दुईवटा पोखरीमध्ये तीन लाख लिटरको पोखरी निर्माण सम्पन्न भएको छ । पाँच लाख लिटरको पोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । मुख्य खानेपानीको लाइन जडान तथा बेँसीसहरमा शाखा लाइन विस्तार भइरहेको बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सबइन्जिनियर त्रिलोचन पौडेलले बताए ।

आयोजना सम्पन्न भएपछि बेँसीसहरवासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने बेँसीसहर समितिका कार्यालयप्रमुख विष्णुबहादुर अधिकारीले बताए । निर्माणधीन आयोजना सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुनेछ ।