भारतमा अाजबाट निर्वाचन शुरू : माेदीकाे लागि अग्नी परीक्षा
काठमाडौँ, २८ चैत ।
भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ ।
निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।
यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् ।
पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन् । उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले सरकार निर्माण गर्नेगरी सुविधाजनक बहुमत आउँछ कि आउँदैन ? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन ? यो दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ अनि त्यस केन्द्रको पनि भित्री भागमा छन् प्रधानमन्त्री मोदी । यथार्थमा भन्नुपर्दा माेदीकाे अर्को अग्नी परीक्षा शुरू भएको छ ।