प्रहरीले खोल्यो बीर ओपिडीको ताला, डाक्टरले आँगनमै जाँचे बीरामी
काठमाडौं, २७ चैत ।
तीन दिनदेखी बन्द रहेको वीर अस्पतालको ओपीडी कक्ष आजबाट खुलेको छ । ओपीडिमा आन्दोलनरत सरकारी डाक्टरहरुले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको हो । प्रहरीले ताला खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् । उनीहरुले आँगनमै बीरामीको उपचार गरेका छन् ।
सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ । डाक्टरहरुको आन्दोलनबाट बिरामीहरुको बिचल्ली भएको छ ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।
उनले भने, ‘अस्पताल प्रशासनकै पहलमा ताला खुलाइएको हो । अहिले बाहिरै बिरामी जाँच्ने काम भइरहेको छ ।’
उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।
वीर अस्पतालका निर्देशक सेञ्चुरीले सरकारी डाक्टरहरुको आन्दोलनले समस्या परेकाले समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताए ।