प्रचण्डद्वारा अमेरिकामा उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं , ११ चैत –

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व महाशक्ति राष्ट्र अमेरिकामा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

जिवनसंगिनी सीता दाहालकाे उपचारको क्रममा अमेरिकामा रहेका सत्तारूढ नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग भेट गरेका हुन् । गत साता उनले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसँग भेटघाट गरेका थिए ।

डेलिसिले प्रचण्ड गतिशील नेता भएको भन्दै प्रचण्डकाे उच्च प्रसंसा गरेका थिए । उनले प्रचण्डले नेपालकाे शान्ति प्रक्रिया र विकासमा महत्त्वपूर्ण नेतृत्व गरेकाे बताएका थिए ।

प्रचण्डका सचिवालय प्रमुख तथा छाेरी गङ्गा दाहालका अनुसार एलिससँगकाे भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालकाे पछिल्लाे राजनीतिक अवस्थाकाे बारेमा चर्चा गर्दै नेपालल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासकाे स्थायी यात्रातर्फ अघि बढेकाे बताएका थिए ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेकाे र द्वन्दकाे रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएकाे बताउँदै नेपालकाे विकासमा थप सहयाेगकाे अपेक्षा गरेका थिए ।

भेटका क्रममा नेपालकाे शान्ति प्रक्रियाकाे उच्च प्रशंसा गर्दै एलिसले नेपालकाे विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयाेग गर्दै आएकाे र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खाेजेकाे बताईन् । 

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्यमा उच्च सुधार देखिएकाे सचिवालयले जनाएकाे छ । स्वास्थ्यमा सुधार भएसँगै प्रचण्डले अमेरिका बसाई छाेट्याएर स्वदेश फर्कने याेजना बनाइसकेका सचिवालयकाे भनाइ छ ।