“सन्तोष लामीछाने स्मृति पत्रकारिता पुरस्कार” विमला अधिकारीलाई

लमजुङ, ७ चैत्र ।
लमजुङमा स्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारीता पुरस्कार २०७५ पत्रकार विमला अधिकारीलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासँघ लमजुङसँगको समन्वयमा पुरस्कार छनौट समितिले यस वर्षको पुरस्कार रेडियो भोटेओडारकी समाचार प्रमूख विमला अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासँघका अध्यक्ष आश गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रत्येक वर्ष फागु पुर्णीमा अर्थात होलीका दिन निर्णय गरी पत्रकार महासँघ लमजुङको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गर्ने प्रचलन छ ।
नेपाल पत्रकार महासंघ लमजुङकोे ६४ औँ स्थापना दिवसको अवसरमा चैत्र १६ गतेका दिन विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । स्थापना दिवसको दिन मध्यनेपाल–८, डढुवामा गई विशेष कार्यक्रम गर्ने महासँघ लमजुङ शाखाले जनाएको छ ।
अधिकारी करिब ८ वर्षदेखि लमजुङमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आउनुभएको छ । स्थायी घर दोर्दी गाउँपालिका २ अर्चलबोट हाल सुन्दरवजार–९, भोटेओडार निवासी अधिकारी हाल रेडियो भोटेओडारको समाचार प्रमूख हुनुहन्छ । पत्रकार अधिकारी हाल मुलखवर अनलाईनमा पनि आवद्ध हुनुहुन्छ ।
लमजुङको भोर्लेटारमा जन्मिएका सन्तोष लामिछानेको २०५३ साल फागुन २६ गते फागु पूर्णिमाको दिन घर नजिकै वसले किचेर निधन भएको थियो । २०६५ सालदेखि लामिछाने परिवारले नेपाल पत्रकार महासँघ लमजुङसँग समन्वय गरी पुरस्कारको स्थापना गरेको हो ।