बाबुरामलाई प्रचण्डको माया : सिकेसँग तुलना गर्नु अराजनीतिक- डा. भट्टराई
काठमाडौं, ४ चैत ।
धेरै लामो सहकार्य र सम्बन्धलाई त्यागेर स्वतन्त्र राजनीतिमा होमीएका पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष एवं पुर्व माओवादी सुप्रीमो पुष्पकमल दाहाल प्रचण्डप्रति आस्था र माया प्रकट गरेका छन् ।
पार्टी परित्याग गरेपछि निरन्तर प्रचण्डको आलोचना गरिरहेका नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिके राउतसँग तुलना गरेकोमा आपत्ति जनाएका हुन् ।
लामो समयपछि पत्रकार सम्मेलन गर्दै नेता भट्टराइले सोमबार राष्ट्र विखण्डनको नारा लगाउने र राजनीतिक इतिहास नै नभएको सिके राउतसँग परिवर्तनको आन्द्योलनको नेतृत्व गरेको प्रचण्डसँग तुलना गर्नु अपराध हुने बताएका हुन् ।
प्रचण्डमा रहेको नेतृत्व क्षमता, कौशलता र चातुर्यता तथा राजनीतीक लगाव र त्याग सिके राउतसँग कत्ति पनि नमिल्ने बताउँदै उनले प्रचण्डलाई अगाडि राखेर प्रधानमन्त्रीले प्रचण्डकै अपमान गरेको पनि बताए ।
प्रचण्ड र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, उनले भने, सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्याएको हौ ,अनि प्रचण्ड र राउत उस्तै हो भन्न मिल्छ ?, उनले भने, ‘राउतले त आत्म समर्पण गरेका हुन्, प्रचण्ड र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।’
उनले राउतलाई सरकारले पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वागत गर्न सकिने बताए। ‘हामी आफैं विद्रोह गरेर आएका र वार्तामा बसेको राम्रो अनुभवभएका मानिस हौ’ उनले भने ।
राउतसँग सरकारले गरेको वार्ताका बारेमा भने आंशका व्यक्त गरे । उनले भने ‘अघिल्लो दिनमा छुट्ने, भोलिपल्ट हस्ताक्षर गर्ने, यो गर्न के जरुरी थियो ? के स्वार्थ हो ? उनले भने प्रधानमन्त्रीलाई पनि परेको छ मैले राउतलाई ठगे, राउतलाई पनि परेको छ यिनलाई मैले ठगे, तर कस्ले कस्लाई ठगे भन्ने प्रष्ट हुदै जाला ।
उनले सिके राउतसँग गरिएको सम्झौतामा जनमत संग्रहको कुरा घुमाउरो ढंगले राखीनु शंकास्पद भएको भन्दै विप्लव नेकपासँग सरकारले राजनीतिक व्यवहार गर्नुपर्ने बताए । त्यसैगरी उनले जेलमा रहेका थारु आन्दोलनका नेता रेशम चौधरीलाई रिहा गर्नुपर्ने पनि बताए ।
निरन्तर प्रचण्डको आलोचना र भण्डाफेरमा उत्रिरहेका प्रचण्डका पुर्व सहयात्री डा बाबुरामले प्रचण्ड आफ्नी श्रीमतीको उपचारका क्रममा अमेरिका भ्रमणमा गए लगत्तै उनीमाथि सहानुभुति देखाउनुलाई अर्थ पूर्ण भएको टिप्पणी पनि गर्न थालिएको छ भने अर्कातिर बाबबुरामले प्रचण्डबारे सत्य विश्लेषण गरेको भन्ने पनि चर्चा शुरु भएको छ ।
जे होस बाबुराम र प्रचण्ड एक अर्काका पर्याय भएर माओवादी जनयुद्ध र शान्ति प्रक्रिया अगाडि बढाएका नेताहरुबीच सम्वन्ध सुध्रिएको देख्न चाहनेहरुलाई भने बाबुरामको यो भनाइ राहत हुन सक्छ । तर यसलाई सम्वन्ध सुधारको रुपमा बाबुरामले उपयोग गर्ने हुन् वा ओली सँग प्रचण्डको दूरी बढाउन भनेका हुन् त्यो भने भावि दिनमा देखिँदै जानेछ ।