मस्जिदमा आक्रमण, ४९ को मृत्यु, फेसबुक लाइभ गरेर गरियो हमला
न्युजिल्याण्ड, १ चैत ।
फेसबुकमा लाइभ गरेर भएको बन्दुकधारीको आक्रमणमा परी न्यूजिल्यान्डमा ४९ को ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रवारलाई ुकालो दिनु भएको बताउँदै यो घटनालाई आतङ्ककारी हमलाु मात्रै भन्न सकिने बताएकी बीबीसीले जनाएको छ । यो घटना न्यूजिल्यान्डको इतिहासमा सबैभन्दा घातक हमला हो।
तीस वर्ष पुग्न लागेका एक पुरुषलाई प्रहरीले गिरफ्तार गरि हत्याको आरोपमा शनिवार अदालतमा पेश गर्ने तयारी गरेको छ। अन्य दुई जना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको प्रहरी प्रमुख माइक बुशले बताएका छन्। ती मध्ये एकजना घटनामा असम्बन्धित भएको र अन्य दुईको घटनासँगको सम्बन्धमा अनुसन्धान गरिरहेको बुशले बताए।
हमलाको प्रत्यक्ष प्रसारण
अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए। त्यहाँको प्रहरीले ह्रदयविदारक उक्त भिडिओ सेयर नगर्न अनुरोध गरेको छ। फेसबुकले आक्रमणकारीको खाता बन्द गरेको र त्यो भिडियो सेयर भएका ठाँउबाट हटाउन प्रयास गरिरहेको बताएको छ।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्। सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उनी ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन्। प्रहरीले केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको समेत बताएको छ।- बीबीसी