स्वदेशमा अालाेचना भइरहँदा राष्ट्रपति किन जाँदैछिन् अमेरिका ?
काठमाडौं , २६ फागुन –
राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ जाँदैछिन् । विभिन्न सामान्य कार्यक्रममा सहभागी भएको तथा राजाकाे जस्तो शैली देखाएको भन्दै सार्सार्वजनिक अालाेचना भइरहेको बेला उनी अाज अमेरिका जान लागेकी हुन् ।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।
लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन् । उनले साइडलानमा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी त्यसतर्फ गएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा भने शनिबार नै त्यसतर्फ प्रस्थान गरिन् । राष्ट्रपतिको टोली शुक्रबार फर्कने कार्यक्रम छ ।