तीन घण्टा लगाएर खानेपानी ल्याउने बाध्यता हट्यो, दलित र जनजातिका घर–घरमा धारा

तनहुँ , १९ फागुन
तनहुँको भिमाद नगरपालिका–५ मा तीन घण्टा लगाएर खानेपानी ल्याउने बाध्यता हटेको छ । खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १७० महिला र १७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् ।

खानेपानी योजना नहुँदा अस्थायी मूलबाट पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो । दैनिक दुई/तीन घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो ।

स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ विसं २०७४ मङ्सिर २९ गतेबाट निर्माण शुरु भएको आमडाँडा खानेपानी आयोजना रु ८४ लाख ४७ हजार २७१ को लागतमा सम्पन्न भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार बासुदेव पाण्डेले बताए ।

खानेपानी आयोजनाका लागि नेपाल सरकारले रु ३० लाख २८ हजार २६२, फिनल्याण्ड सरकारले रु ३० लाख २८ हजार २६२ आर्थिक सहयोग गरेको छ । आयोजनाका लागि भिमाद नगरपालिकाले रु आठ लाख ४४ हजार ७२७ र स्थानीय उपभोक्ताले रु पाँच लाख ८३ हजार ४५३ लागत सहभागिता व्यहोरेका छन् भने रु नौ लाख ६२ हजार ५६७ बराबरको जनश्रमदान गरेका छन् ।

खानेपानी आयोजनाबाट ५९ घरधुरीका ३४३ उपभोक्ता लाभान्वित भएको आमडाँडा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष विवेक रानाले बताए । सोही वडाको भालुखोलाबाट पानी लिफ्टमार्फत् ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताको घरघरसम्म वितरण गरिएको रानाले जानकारी दिए । एक घर एक धाराअन्तर्गत सबै उपभोक्ताको घरघरमा धारा जडान गरिएको राससले समाचार दिएकाे छ ।