पाकिस्तानले मुक्त गर्यो पाइलट, भारतद्वारा स्वागत, इमरानको चौतर्फी प्रशंसा
नयाँ दिल्ली, १७ फागुन ।
पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीइ लडाकु विमानका चालक पाइलटलाई मुक्त गरेको छ । आफैं विरुद्ध बम हान्न आएका विरोधी सैनिकलाई सकुशल मुक्त गरेर पाकिस्तानले धेरै राम्रो काम गरेकोभ भन्दै विश्वभर प्रशंसा भएको छ ।
भारतले पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ।
भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू निकै हर्षित भएको बताएका छन्। उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघाअटारी सीमामा भारतलाई हस्तान्तरण गरिएको छ।
तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ। कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन्। युद्धको त्रासले त्यस भेगका सयौँ बासिन्दाहरूले घर छाडिसकेका छन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशको संसदको संयुक्त सत्रमा बोल्दै त्यस कदमलाई शान्तिको सङ्केतका रूपमा अर्थ्याएका थिए।