नेपालीहरुको प्रतिष्ठासंग गाँसिएको चलचित्र हो ‘ बुद्ध बर्न इन नेपाल’
काठमाडौं,७ जेठ ।
अहिले के गर्दै हुनुहुन्छ ?
हामीले निर्माण गरेको चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ जेठ ७ आजदेखि अल नेपाल प्रदर्शनमा आउँदै छ । अहिले त्यही चलचित्रका बारेमा जानकारी गराउने उद्धेश्यले विभिन्न कार्यहरु गरिरहेका छौं । त्यस्तै एनआरएनको सहयोगमा अमेरिका , क्यानाडा लगायतका देशहरुमा देखाउने पनि तयारी गरिरहेका छौ ।
कसरी सोच आयोे, चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ बनाउने ?
म अमेरिकामा हुँदा बुद्धको जन्म स्थानको बारेमा गलत प्रचार प्रसार भएको पाएँ । धेरै जसो किताबहरुमा त बुद्ध भारतमा नै जम्मिएका हुन् भनेर पनि लेखिएको छ र त्यहाँका विद्यार्थीहरुलाई त्यही नै पढाइन्छ । यी सबै कुराहरुले मलाई भित्रैबाट पोल्यो अनि मैले सोचे यति धेरै चलचित्रमा अभिनय गरियो तर देशको लागी केही गर्न सकिएन अब यहि माध्यम हो भनेर मैले ‘बुद्ध वर्न इन नेपाल ’भन्ने एउटा इन्टरनेशनल लेभलको नेपाली चलचित्र बनाउने सोच आयो र बनाएँ । बुद्ध सम्बन्धी जसरी नकारात्मक हल्लाहरु रहेका छन् ,त्यसलाई चिर्नै पर्छ भनेर यो चलचित्र निर्माण गरेका हौं । नेपाली जहाँ भएपनि सम्पूर्ण नेपालीहरुको इज्जतसंग गाँसिएको चलचित्र हो यो ।
चलचित्रमा तपाईको भूमिका ?
मैले सच्चा देश प्रेमिको भूमिका निर्वाह गरेको छु यो चलचित्रमा । नेपालका बारेमा भएका गलत प्रचारप्रसारहरुलाई,नराम्रा हल्लाहरुलाई रोक्ने प्रयास गरेको हुन्छु । चलचित्रमा एउटा अभियान नै छ जसको नेतृत्व मैले नै गरेको छु । अहिलेलाई यति भनौ बाँकी चलचित्र हेरेपछि थाहा भइहाल्छ नी । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्रमा अशिष्मा नकर्मी , निर शाह , मिथिला शर्मा , अनिता लामा लगायतका हलिउड कलाकारहरुले पनि निकै मिहिनेत गर्नु भएको छ एउटा राम्रो नेपाली चलचित्र बनाउनका लागी । चलचित्रका गीत देखि लिएर यसको छायाँकन लगायतका सबै कुराहरु उत्कृष्ठ छ ।
कतिको गाह्रो अर्थात अप्ठ्यारोको सामना गर्नुपर्यो यो चलचित्र निर्माणमा ?
अन्य नेपाली चलचित्र बनाउन जस्तो सजिलो चाहि यो चलचित्र बनाउन भएन । नेपाल बाहिर पनि चलचित्रको छायाँकन गरिएको छ । अमेरिकामा पनि यसको छायाँकन भएको छ । कहिले अमेरिका त कहिले नेपालमा सुटिङ गर्नु परेकाले पनि अत्यन्तै कडा मिहेनत गर्नुपरेको थियो ,यस चलचित्रका लागी ।
तपाईको एक खालको क्रेज थियो नेपाली चलचित्रका दर्शकमाझ केही समयको अन्तरालपछि फर्कदा चलचित्र सफल हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
म केही समयको अन्तरालपछि पुनः नेपाली दर्शकमाझ आएको छु । मलाई आशा छ हिजोको जस्तै मलाई दर्शकहरुले साथ सहयोग दिनुहुनेछ । रमित ४ बर्षपछि नेपाली चलचित्र उद्योगमा एउटा राष्ट्रियता बोकेको चलचित्र लिएर आएको छ । मलाई लाग्छ यो भनेको मेरो लागि र समग्र देशकै लागि राम्रो कुरा हो । यो चलचित्र सफल हुनेमा म पूर्ण आशावादी छु । जहाँ जहाँ नेपाली छन् सबैका लागि हो यो चलचित्र । देशका लागि हो यो चलचित्र । असफल भन्ने त कुरै आएन, होइन र ? तपाईले व्यवसायिक सफलता तर्फ इंकित गर्नु भएको हो भने त्यसमा पनि सफल हुनेमा आशावादी छु । सबैभन्दा ठूलो कुरा हामिले चलचित्र मार्फत् के दिन खोजेका छौं भन्ने कुरा हो । नेपाल सरकार र विश्वभरि रहेका नेपालीहरुको साथ सहयोग यो चलचित्रले पाउनेछ ।
यस चलचित्रले व्यवसायिक सफलता गरेन भने अबको तपाईको गन्तव्य ?
म केही समय बाहिर बसेर आएको भएर तपाईले सायद यस्तो प्रश्न गर्नुभयो होला भन्ने लाग्छ मलाई । म के भन्न चाहान्छु भने मेरो कर्मथलो भनेको नेपाल हो । चलचित्र सफल हुनेमा म ढुक्क छु किनकि मैले माथि पनि भने यो आम नेपालीसंग गासिएको चलचित्र हो । यो रमितको मात्रै नभएर सबै नेपालीलाई आनन्द प्राप्त हुन्छ । अबको मेरो गन्तव्य के भन्नु भयो भने नेपाली चलचित्र नै हो । तर,अब राम्रो प्रोजेक्टमा मात्रै काम गर्छु ।
यो क्षेत्रबाट केही समयसम्म ओझेल पर्नुको कारण ?
मेरो मन मस्तिष्कमा नेपाली चलचित्र छ ।मेरो शरीरको रगतको प्रत्येक कणमा नेपाली चलचित्र छ । फेरि कसरी ओझेल ? हो केही समय चलचित्र नखेलेको हो । चलचित्र नखेल्दैमा यो क्षेत्रबाट पलायन भो भन्न चाहिँ मिली हाल्दैन भन्छु म । केही बर्ष रेष्ट गरेको हँु । फेरि आएको छु । अब भने फेरी यो क्षेत्रमा जमेरै लाग्छु ।
–फिल्मी खबर साप्ताहिकका लागी गीता अधिकारीले ‘ नेपाल बर्न इन नेपाल’ चलचित्रका नायक तथा निर्माता रमित ढुंगानासंग गरेको कुराकानी ।