एकताका लागी बादलको निर्णायक वैठक

काठमाडौं,२८ वैशाख ।

badalएकिकृत माओवादी लगायत अन्य माओवादी घटकहरुबीच पार्टी एकता गर्नुपर्छ भन्ने रामबहादुर थापा बादल पक्षिय नेताहरुको निर्णायक वैठक  बस्दैछ । कुपन्डोेलस्थित नेवाः राज्य कार्यलयमा बस्ने उक्त बैठकले मोहन बैद्यसंगको सम्बन्ध औपचारीक रुपमा बिच्छेद गर्ने बुझिएको छ ।
वैद्यले चैत २७ गते एक महिनाको लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि अर्को एक महिना पन्छाएपछि महासचिव रामबहादुर थापा बादलको समूहले समानान्तर केन्द्रीय समिति बैठक आयोजना गरेको हो । बादल समूहका नेताहरुले जानकारी दिए अनुसार उक्त केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग एकताको निर्णय गर्नेछ ।

वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने थियो । चैत ११ देखि सुरु केन्द्रीय समिति बैठकमा १ सय ९९ मध्ये बहुमत सदस्य पार्टी एकताको पक्षमा देखिएपछि दबाबमा परेका वैद्यले चैत २७ गते एक महिनाका लागि बैठक स्थगित गरेका थिए । तर एक महिना पुग्दा पनि बैद्यले केन्द्रिय समिति बैठक नबोलाएपछि एमाओवादीसग पार्टी एकताका पक्षमा लबिङ गर्दै आएका महासचिव रामबहादुर थापा बादलले आज  बैठक बोलाएका हुन् ।

वैद्यले बादल पक्षको आज बस्ने बैठकमा जानेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बादल पक्षले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । ‘बादल पक्षले जनाए अनुसार चैतको बैठकमा उपस्थित १ सय ९४ सदस्यमध्ये बहुमत सदस्यले पार्टी एकताका पक्षमा विचार राखेका थिए ।

हाल वैद्यतर्फ नेताहरु सिपी गजुरेल, इन्द्रमणी सिग्देल, हरिभक्त कडेल, परि थापा, दिनेश शर्मालगायत छन् । बादलतर्फ हितमान शाक्य, देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसी, लेखनाथ न्यौपाने, सूर्य सुवेदी, महेश्वर दाहाल, साबित्री काफ्ले, पूर्ण घर्ती, अमृता थापा लगायत छन् ।

एकीकृत माओवादीबाट चार वर्षअघि चोइटिएको बैद्य माओवादीबाट यसअघि बिप्लब माओवादी फुटेको थियो । बादलहरु एकतामा जाने भएपछि फेरी पनि बैद्य माओवादी फुट्न लागेको हो ।बादलको एकता गर्ने सोचपछि बैद्य एक्लिदै गएका छन् ।