एमाओवादीसँग छलफल नगरी नीति तथा कार्यक्रम ल्याइयो – अनन्त, एमाओवादी सचिव/ पर्याप्त छलफल गरिएको छ -ज्ञवाली, एमाले सचिव

barshaman punpradip gywali

एमाओवादीसँग छलफल नगरी नीति तथा कार्यक्रम ल्याइयो – अनन्त, एमाओवादी सचिव/ 

पर्याप्त छलफल गरिएको छ -ज्ञवाली, एमाले सचिव 

काठमाडौँ, २७ वैशाख /

एकीकृत नेकपा माओवादी सचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले  एकीकृत नेकपा माओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको खुलासा गरेका छन ।
राजधानीमा सोमबार आयोजित  साक्षात्कारमा उनले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर ल्याउँनु पर्नेमा आफुृहरुसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा आफूहरुलाई समेत जानकारी नरहेको दावी गरे ।
सचिव अनन्तले भने,‘ हाम्रो पार्टीका अध्यक्ष प्रचण्डसँग एकशब्द समेत छलफल नगरी मंसिरमा चुनाव गर्ने कुरा ल्याईएको छ । अहिलेको संविधानले गाविस चिन्दैन अनि केको निर्वाचन गर्ने ? यसरी छलफल नै नगरी सस्तो लोकप्रियताको लागि नीति तथा कार्यक्रम ल्याउँदा पछि समस्या हुन्छ । नौ बुँदे सहमतिका कुराहरु यसमा परेका छैनन । सरकार आयूकै विषयमा प्रश्न उठिरहेको बेला दिर्घकालिन विषयहरु ल्याउनु राम्रो होईन ।’
नीति तथा कार्यक्रम गठबन्धनको संस्कार र शैली अनुसार नआएकोले यसमा आफूहरुको आलोचनात्मक समर्थन रहने स्पष्ट पार्दै बजेट ल्याउँदा सबैलाई सहमति र विश्वासमा लिएर ल्याउनु पर्ने सुझाव दिए ।
उनले नीति तथा कार्यक्रम राम्रो र केही आशा जगाउने खाले भएपनि यसको कार्यान्वयन हुने नहुने भन्नेमा समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै भुकम्प पीडितहरु त्रिपालमा बसिरहेको अवस्थामा प्रत्येक गाविसमा हेलिप्याड बनाउने कुरा खिसिटिउरी गर्ने विषय भएकोले यस्ता विषयले सरकारमाथिको विश्वासमा ह्रास ल्याउने तर्फसचेत गराए ।
सचिव पुनले नीति तथा कार्यक्रमको आधारमै बजेट ल्याउनु पर्ने सुझाव दिदै बजेट सँगै बजेट कार्यान्वयनको संरचना निर्माणमा पनि जोड दिनु पर्ने धारणा राखे ।
सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनु पर्ने भन्दै बजेट पारित गर्दा सम्म आफूहरु बर्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पारे ।
सचिव पुनले भने,‘ केही राजनीतिक सहमति भएका छन । त्यसलाई राजनीतिक रुपमै राख्नु पर्छ । जुन दिनसम्म यो सरकार रहन्छ हामी यसको समर्थनमा रहन्छौ । अहिले नै सरकार परिवर्तनको कुरा गरेर अस्थिर बनाउनु हुँदैन । सहमतिको सरकार गठनकोलागि प्रयास गर्छौ ।’

एमालेका सचिव प्रदिप ज्ञवालीले भने एमाओवादीसँग पर्याप्त छलफल गरेरै नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।
मूलखबरसँगको प्रतिक्रियामा ज्ञवालीले भने नीति तथा कार्यक्रमबारे सत्तारुढ सबै घटकहरुसँग छलफल गरिएको हो, वर्षमानजीले किन त्यसो भन्नुभयो, उहाँ त्यसमा छुटुनुभयो की रु
उनले नीति तथा कार्यक्रम समय सान्दर्भीक र जनपक्षीय भएको बताए । उनले यसको कार्यान्वयनमा सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन र सम्वादमार्फत नै समस्याको समाधान गर्न राष्«ट्रपतिले नीति तथा कार्यक्रममार्फत नै आग्रह गरिसकेको बताउँदै यसको कार्यान्वयनमा उक्त पक्षको समेत भूमिका हुने बताए ।
नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि आगामी बजेटमार्फत स्पष्ट कार्ययोजना ल्याइने पनि उनले जानकारी दिए ।
उनले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि वर्तमान परम्परागत संरचना र कर्मचारी संयन्त्रमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।