प्रचण्ड – ओली सम्वन्धका आयामहरु
उस्तै–उस्तै पृष्ठभूमि
सात महिनायता वामपन्थीलगायतको गठबन्धन सरकारको नेतृत्व सम्हालिरहेका छन्, एमाले अध्यक्ष केपी शर्मा ओलीले । ओली सरकारको बलियो रक्षाकवज बनेर काँध थामेका छन्, अर्का कम्युनिस्ट दल एमाओवादी अध्यक्ष प्रचण्डले ।
यी दुवै नेताको पृष्ठभूमि केलाउने हो भने एकै प्रकृतिको छ । एउटा नेता ओली झापा सशस्त्र संघर्षको विरासतबाट उदाएका हुन् । एमाओवादी नेता प्रचण्ड सशस्त्र जनयुद्धबाट । दुवैले एक समय हतियारबद्ध युद्दमा आफूलाई होमेनन् मात्र त्यसको नेतृत्व पनि गरे ।
ओली–प्रचण्ड दुवैले अहिले दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन् । दुवै नेतासँग राज्यको सर्वाेच्च कार्यकारी निकाय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । ओली अहिले त्यो अनुभव सँगालिरहेका छन् भने प्रचण्ड केही वर्षअघि सो पदमा थिए ।
संयोग मान्नुपर्छ, प्रचण्ड नेतृत्वको तत्कालीन सरकारलाई ओलीको पार्टीले साथ दिएको थियो । अहिले ओली नेतृत्वको सरकारलाई प्रचण्डले काँध थापेका छन् । प्रचण्डभन्दा ओली उमेरमा तीन वर्ष मात्रै जेठा छन् । ओली २००८ सालमा जन्मिएका थिए । प्रचण्ड २०११ सालमा ।
पहिलो भेट
०५८ मा ओली–प्रचण्डको पहिलो भेट भएको थियो । त्यसवेला ओली एमालेभित्र एउटा प्रखर नेता थिए । त्यतिवेला माओवादीले वामपन्थी पार्टीका नेताहरूको भारत सिलिगुडीमा भेला गराएको थियो । सो भेलामा ओलीसँग पहिलोपटक भेट भएको स्मरण गर्छन्, प्रचण्ड ।
‘ओलीसँग मेरो पहिलो भेट जनयुद्धकालमा भूमिगत रहेकै अवस्थामा भएको हो । २०५८ सालमा भारतको सिलिगुडीमा । माधव नेपालजी एमालेको महासचिव पनि भएका कारण भेटघाट, कुराकानी भइरहन्थ्यो, केपी ओली पनि एउटा लिडर भएको हुनाले हामीले भूमिगत रूपमा आयोजना गरेको कार्यक्रममा भेट भएको हो,’ प्रचण्डले नयाँ पत्रिकासँग भने ।
ओलीसँग त्यसवेला अन्य तीन नेता पनि सँगै थिए । त्यहाँ प्रचण्डले उनीसँग लामै कुराकानी गरेका थिए । त्यही कुराकानीले एक–अर्काको स्वभाव, आचरण बुझ्न सहयोग पुगेको ठान्छन्, प्रचण्ड ।
‘सायद ओलीजीलाई मेरो बारेमा जे–जति सूचना थियो, सँगै बसेर दुई–चार घन्टा कुराकानी गरिसकेपछि उहाँको धारणा धेरै पोजेटिभ भएको पाएको थिएँ,’ त्यसवेलाको भेट स्मरण गर्दै प्रचण्डले भने, ‘मैले सोचेभन्दा तपाईं बिलकुलै अर्काै हुनुहुँदोरहेछ भनेजस्तो अभिव्यक्ति ओलीजीको थियो ।’
दिल्लीमा १२ बुँदे गर्दा दोस्रो भेट
भूमिगत अवस्थामा रहे पनि प्रचण्ड एमालेका तत्कालीन महासचिव माधव नेपाललगायतका अन्य केही नेताहरूसँग निरन्तर सम्पर्कमा थिए । तर, ओलीसँग सम्पर्कमा थिएनन् । ७ मंसिर २०७२ को दिल्ली १२ बुँदे सम्झौताअघि रोल्पामै एमाले नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीसँग प्रचण्डले भेटघाट गरेका थिए । एमाले–एमाओवादीबीच त्यहीँ एक खालको सहकार्यको समझदारी बनेको थियो । ओलीले त्यसलाई रुचाएनन् । उनले एमाले केन्द्रीय कमिटी बैठकमा गौतम र ज्ञवालीलाई कारबाही गर्नुपर्ने माग राखे । तर, त्यसको एक महिनापछि भने ओली आफँै माओवादीसँग सहकार्यका लागि सक्रिय बने । त्यसपछि १२ बुँदे समझदारीका वेला प्रचण्ड–ओलीबीच दोस्रोपटक भेट हुन पुग्यो ।
‘दिल्लीमा त सँगै बसेर ड्राफ्ट गरियो, ड्राफ्ट कोर्ने, मेट्ने सबै काम गरियो, त्यसो गर्नेमा म, ओली, माधव नेपाल, केपी सिटौला, गिरिजाप्रसाद कोइराला हामी पटक–पटक भेटेका छौँ,’ १२ बुँदे गर्दाको ओलीसँगको सम्बन्ध खोतल्दै प्रचण्डले भने ।
संसदवादी दलहरूको राजासँग बढेको अन्तरविरोधले तत्कालीन विद्रोही माओवादी र सात दललाई एउटै कित्तामा ल्याइपुर्याएको थियो ।
संसदवादी–माओवादी सबै एउटै कित्तामा रहेपछि उनीहरूका बीच झगडा गर्नुपर्ने विषय देखिएन । जसरी हुन्छ एक–अर्काेसँग सहकार्य गर्ने, राजतन्त्रका विरुद्ध संयुक्त आन्दोलन गर्ने । यही कार्यसूची दिल्लीमा तयार भयो । ‘१२ बुँदे समझदारीका वेला त्यहाँ झगडा गर्नुपर्ने केही कारण नै थिएन,’ प्रचण्डले नयाँ पत्रिकासँग भने, ‘ओलीजीसँगको सिलिगुडीको पहिलो भेटले पनि हुनुपर्छ, १२ बुँदे समझदारी बनाउन त्यसले एउटा सकारात्मक भूमिका खेल्यो । उहाँसँगको कुराकानीपछि एमाले सम्पूर्ण रूपमा शान्ति प्रक्रिया र समझदारी निर्माण गर्न लागेको मेरो अनुभव छ ।’
उचार–चढावको सम्बन्ध
एमाले–एमाओवादी सम्बन्ध ओली–प्रचण्डका कारण उतार–चढावमै रहिरह्यो । १२ बुँदेदेखि विस्तृत शान्ति सम्झौतासम्म देखिएको समधुर सम्बन्ध पहिलो संविधानसभाको निर्वाचनका वेलादेखि तिक्ततापूर्ण रहन पुग्यो । त्यसको एउटै प्रमुख कारण थियो, ओलीको एमाओवादीलाई गर्ने तिखो व्यंग्य ।
ओली एमाओवादी र त्यसका ‘सुप्रिमो’ प्रचण्डलाई ठाड,ठाडै व्यंग्य गर्थे । जसले दुई नेताबीच तिक्ततापूर्ण सम्बन्ध रहन पुगेको कतिपय नेताहरू बताँउछन् । संविधानसभाको निर्वाचनमा एमाओवादी पहिलो शक्ति मात्र बनेन, एमालेका ओलीदेखि अधिकांश शीर्ष नेता चुनावमा पछारिन पुगे । त्यसपछि शक्तिको ‘उन्माद’ मा एमाओवादी र पराजयको ‘झोंक’मा एमालेका नेताहरूको ‘वाकयुद्द’ नै चल्यो । त्यसका दुई प्रमुख पात्र थिए, ओली–प्रचण्ड ।
दुई पार्टी र दुई नेताको त्यसवेलाको नमीठो सम्बन्ध स्मरण गर्दै प्रचण्डले भने, ‘संविधानसभाको पहिलो चुनावका वेलादेखि उहाँ (ओली) सँग अलिकति तिक्तता भयो । उहाँ पनि खरो रूपमा प्रस्तुत हुन खोज्ने, हामी पनि भर्खरै क्रान्तिबाट आएको, रापताप भएको कम थिएनौँ, त्यसकारण उहाँ अलिक तिखो प्रहार गर्ने ढंगले आउने भएपछि स्वत: यताबाट पनि काउन्टर हँुदै जाँदा उहासँगको सम्बन्ध सबैभन्दा नमीठो पनि भयो ।’
ओलीको टुक्काले चिसो सम्बन्ध
ओली उखान–टुक्का मिसाएर भाषण गर्न पहिलेदेखि नै खप्पिस थिए । त्यसमाथि एमाओवादीलाई लक्षित गर्दै उनले जोड्ने उखान–टुक्काले बिझाइरह्न्थ्यो प्रचण्डलाई । सुन्नेलाई रमाइलो लागे पनि प्रचण्ड–ओलीबीच त्यसले तिक्तता बढाउने काम मात्रै गर्यो ।
प्रतिजवाफमा एमाओवादी पनि ओलीविरुद्ध आक्रामक बन्न पुग्थे । ओलीले आफूलाई महाराजा र अरूलाई रैतीको व्यवहार देखाएको भन्दै प्रचण्डले सार्वजनिक रूपमै ‘को हुन् ओली ?’ भन्दै टिप्पणी गर्थे । त्यति मात्रै होइन, प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले औपचारिक रूपमै ओलीको मानसिक उपचार गराउनुपर्ने निर्णयसमेत गरेको थियो ।
तिक्ततापूर्ण यस्तो सम्बन्ध उतार–चढावका रूपमा झन्डै सात वर्षसम्म उत्कर्षकै रूपमा रहेको एमालेका नेताहरू बताउँछन् । ओली स्वयंले पनि एक सन्दर्भमा दुई पार्टी सम्बन्धका विषयमा टिप्पणी गर्दै भनेका थिए, ‘सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक–अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु † हिरो एकातिर, हिरोइन अर्कोतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले–एमाओवादीको सम्बन्ध त्यस्तै भयो ।’
सम्बन्धले लियो नयाँ मोड
राजनीति सधैँ एकैनासले अगाडि बढ्दैन । त्यसकै उदाहरण पनि बनेका छन्, ओली–प्रचण्ड । कुनै वेला एक–अर्काका कट्टर आलोचक उनीहरू अहिले एकअर्काका परिपूरक बनेका छन् । सात महिनायता गाँसिएको ‘अलौकिक’ सम्बन्ध केही दिनअगाडि झन्डै टुट्न पुगेको थियो । तर, फेरि एउटा मिलापमा आएर टुंगिएको छ । झन्डै बिग्रन खोजेको सम्बन्धले अहिले १८० डिग्री फन्को मारेको छ ।
एमाओवादी नेताहरूका अनुसार केपी ओली र प्रचण्डको सम्बन्ध निकै रहस्यमयी पनि छ । कुनै समय प्रचण्डलाई निकै होच्याउने गरेका ओली अहिले उनै प्रचण्डसँग काँध मिलाइरहेका छन् । यी दुई नेताबीच अहिले एक–अर्कामा आरोप लगाउनसमेत ‘सकस’ हुन्छ ।
गणित बिग्रिँदा सम्बन्ध सुधार
दोस्रो संविधानसभाको चुनावपछि प्रचण्डले अनुमान गरेको गणित बिग्रनु र ओलीलाई पनि सरकारमा रहन एमाओवादीको साथ नभई नहुने भएपछि सम्बन्धमा सुधार आएको विश्लेषण गरिन्छ । तर, प्रचण्ड त्यसलाई मात्रै स्किकार्ने पक्षमा देखिन्नन् ।
‘मुख्यत: संविधान बनाउने प्रक्रियामा उहाँको जस्तो सक्रियता देखियो र हाम्रा धेरै राउन्ड छलफल जसरी भए, त्यसले एक अर्काेलाई बुझ्ने सवालमा धेरै हदसम्म मद्दत गर्यो भन्ने लाग्छ,’ प्रचण्डले ओलीसँगको सम्बन्ध सुधारको प्रसंग कोट्याउँदै थपे, ‘नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिक आन्दोलनको पात्र विशिष्ट त हुँदै हो । उहाँ (ओली) का आफ्ना केही सीमा, कमजोरी र सबल पक्ष होलान्, त्यो सबैका हुन्छन् । उहाँका पनि छँदै छन् । केही गम्भीर प्रकृतिका सीमा पनि होलान्, केही सबल पक्ष पनि होलान् । तर, अहिले म ‘नर्मल’ देख्छु हाम्रो सम्बन्ध ।’
मिसन मिल्दाको मिलाप
एमाओवादी अध्यक्ष प्रचण्ड राष्ट्रियताको रक्षा र संवर्धन गरेर जानुपर्ने निष्कर्षमा छन् । पछिल्लोपटक देशभित्र बाह्य शक्तिकेन्द्रको चलखेल बढेको भन्दै स्वाधीनताको रक्षा चुनौतीपूर्ण रहेको उनी ठानिरहेका छन् ।
तर, अहिले उनैले एक जमानामा टनकपुरदेखि पञ्चेश्वरसम्मका सम्झौताका दोषी ठहर गरेका ओलीसँग सहकार्य बढाइरहेका छन् । टनकपुरदेखि पञ्चेश्वरसम्मका सम्झौतमा ओली बढी नै भारतपक्षीय बनेको आरोप प्रचण्डकै पार्टीले ओलीमाथि नलगाएको होइन । तर, ओलीको बदलाव राजनीतिलाई प्रचण्ड राष्ट्रवादी देख्न थालेका छन् ।
‘हिजो नेपाली जनता सबैले पनि ओली भनेको भारतले जे भन्यो, त्यही मान्ने मान्छे हुन् भन्ने छाप थियो । उहाँले अहिले त्यो छाप बदल्नुभएको छ,’ प्रचण्डले भने, ‘अहिले यतापटि आएपछि उहाँले आफ्नो छवि बदलेर अलिक राष्ट्रवादी बनाउनुभएको छ । त्यसले पनि परिस्थितिमा अलिक फेरबदल आएको छ ।’
पार्टी एकतासम्मकै चर्चा
दुवै नेताले हाँकेका नेपालका दुवै पार्टी कम्युनिस्ट पार्टी हुन् । राजनीतिक कार्यदिशा, सांगठनिक फरकपनलगायतका विषयमा एमाले, एमाओवादीबीच पार्टी एकता भइहाल्ने अनुमान लगाइहाल्न सकिन्न । तर पनि प्रचण्ड–ओलीबीच यदाकदा प्रसंगवश दुवै पार्टीबीचको एकतामा समेत छलफल चलेको छ ।
स्थानीय निकायसम्मको कार्यगत एकता, त्यसपछि क्रमश: कार्यदिशाको बहस गर्दै एउटै कम्युनिस्ट केन्द्र बनाउनेसम्मका बहस यी दुई नेताका बीचमा चलेको एमालेका नेताहरू बताउँछन् ।
एमाले नेताहरूले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउन सकिएको प्रसंग कोट्याउँदै प्रचण्डलाई पनि अध्यक्ष मान्न तयार रहेको जनाउ दिएका छन् । ओलीले विष्णु पौडेलमार्फत पार्टी एकताको ‘कार्ड’ नै पनि अघि सारेका थिए, केही समयपहिले । उनले ‘दुई पार्टी एकता भयो भने मनमोहन अधिकारीलाई जसरी तपाईंलाई अध्यक्ष मान्न एमाले तयार छ’ भन्नेसम्मका कार्ड प्रचण्डकहाँ पुर्याएका थिए ।
औपचारिक सम्बन्ध, सतर्कतापूर्ण व्यवहार
ओली–प्रचण्ड अहिले जति मिलेको देखिएका छन्, उत्ति नै सम्बन्धमा सन्देहपूर्ण अवस्था पनि छ । औपचारिक सम्बन्धबाहेक अन्य विषयमा अझै मन माझेर कुराकानी भने अझै हुने गरेको छैन । पार्टी रणनीति अवलम्बन गर्ने विषयमा एकले अर्काेको रणनीतिमा चलाखी अपनाउने गरेका छन् । जति उनीहरूले चलाखी अपनाउँछन्, उत्ति नै गोपनियता र सतर्कता पनि । ‘त्यस्तो सतर्कताको सम्बन्ध आवश्यक पनि छ,’ एमाओवादीका एक नेताले भने, ‘टाढा–नजिकको सम्बन्धभन्दा पनि सन्तुलित सम्बन्ध राख्दा
सम्बन्ध सन्तुलित हुन जान्छ । त्यो दुवै नेताले बुझेका छन् ।’
२२ र २३ वैशाख : उतार–चढावका दुई दिन
२२ र २३ वैशाख ओली–प्रचण्ड दुवैका लागि एउटा ‘क्लाइमेक्स’को दिन बन्यो । ओलीले सरकार गठनका वेला गरेको १४ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमाओवादीले सरकारबाट हट्नेसम्मको चेतावनी मात्रै दिएन, कांग्रेसको समर्थनमा सरकार गठनमा सघाउन
अपिलसमेत गरे ।
यसले देशको राजनीति पूरै तरंगित हुन पुग्यो । प्रचण्डले लिन सक्ने बोल्ड डिसिजनले ओली सरकार धरमराइरह्यो । दुवैले लिने बोल्ड डिसिजनले एक–अर्काेलाई प्रभावित पार्दै थियो । दुवै नेता एकदम तरंगित पनि थिए । तर, २३ वैशाखको मध्यरात तरंगित राजनीतिलाई चिर्दै दुवैले नौबुँदे समझदारीपत्रमा हस्ताक्षर गरे ।
फेरि गठबन्धन सम्बन्धलाई कसिलो पार्ने उद्घोष गरे । समझदारीपत्रमा हस्ताक्षर गर्दै प्रचण्डले भने, ‘हिजोका कुरा बिर्सिदिऔँ, आजबाट नयाँ ढंगले सहयात्रा गरौँ ।’ ओलीले थपे, ‘बिर्सनैपर्छ, लौ आउनुहोस्, हात मिलाऔँ ।’
प्रस्तुति : रामकृष्ण अधिकारी-नयाँ पत्रिकाबाट