राष्ट्रिय सहमतीका लागी सरकार बनाउन सबै दल तयार भएनन् –प्र्रचण्ड
काठमाडौं, २३ बैशाख ।
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नु पर्ने बताएका छन् । जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा भएको उनको भनाई छ । उनले भने, ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु जरुरी छ ।’
कार्ल मार्क्सको १९८ औं जन्म दिवसका अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलन अबको बाटो विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलहरु तयार हुने हो भने राम्रो कुरा भएको भन्दै नेपाली काँग्रेसको प्रस्तावलाई आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।
उनले भने, ‘ तत्काल प्रमुख दलहरु राष्ट्रिय सहमतिको सरकारमा नआउने देखिएपछि आफूहरुले बर्तमान सरकारलाई नै निरन्तरता दिने र जारी प्रक्रियामा व्यवधान नल्याउने हाम्रो उद्देश्य छ ।’ उनले राष्ट्रिय सहमतिको लागि प्रयत्न जारी राख्न नेपाली काँग्रेस, सरकारमा भएका पार्टीहरु र सरकारमा नभएका मधेसी मोर्चा लगायत सबै पार्टीहरुसँग आफूहरुको जोड रहेको बताए।
उनले भने, ‘अहिले हामी संविधान कार्यान्वयनको चुनौति, परिमार्जनको चुनौति, पुनर्निर्माणको चुनौति, जनताको आर्थिक संवृद्धिलाई सम्बोधन गर्ने चुनौतिको लागि राष्ट्रिय एकताको खाँचो छ ।’ वामपन्थी मात्र होइन, देशका प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर मात्र संविधान बनाउन सम्भव भएको प्रचण्डको भनाई छ ।