नाफाको बाँकी जिवन पनि राष्ट्र र जनताको पक्षमा समर्पित गर्छु– वर्षमान पुन ‘अनन्त’

एमाओवादीका सचिव एवं पुर्र्व अर्थमन्त्री वर्षमान पुन अनन्त अत्यन्त क्रियाशील युवा नेता हुन् । वंशाणुुगत जण्डीस र टक्सीक हेपाटाइटिसबाट ग्रस्त भएर काठमाडौं, दिल्ली र थाइल्याण्डको समितिभेज अस्पतालमा उपचारपश्चात स्वास्थ्य लाभ सँगसँगै नियमीत राजनीतिक काममा व्यस्त रहेका उनी माओवादी पार्टीहरुको एकीकरणको लागि क्रियाशील रहेका छन् । राज्यकोषबाट एक रुपैयाँ पनि नलिई उपचार गरेका अनन्तले नेपाललै स्वास्थ्य क्षेत्रमा जनताले भोग्नुपरेका समस्या समाधानको लागि पनि पहल गरिरहेका छन्

प्रस्तुत छ जनयुद्धकालीन दिनचर्या र अहिले पार्टी एकीकरण, सरकारको समिक्षा र समग्र विषयमा मूलखबर डटकमका लागि अनन्तसँग गरिएको विशेष कुराकानी –

प्रधानमन्त्री उखान टुक्का गर्दै हिंड्ने, जनजीविकाका गम्भीर विषयलाई जोक्समा बदल्ने, हावादारी गफ दिने । मधेश जनजातीलगायतलाई चिढाउने गरी अभिव्यक्ति दिने काम भएको छ । सुसासन दिन त परै जावोस कालाबजारी र भ्रष्टाचारलाइ संस्थागत गर्ने काम भयो । अनुगमन नियमन र सुरिवेक्षणमा असफल भयो । सरकारको ६ महिनाको कुरा गर्दा राम्रो भएका छैन भन्ने नै मुल्यांकन हो ।

ananta int copy

अहिले स्वास्थ्य अवस्था कस्तो छ ?
अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ । मैले आफ्नो नियमीत रुपमा पार्टीको काम पनि शुरु गरिसकेको छु । तपाईहरुको यो लोकप्रीय अनलाईनमार्फत म सम्पूर्ण मेरा शुभेच्छुक र समर्थक एवं मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने समस्त महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

तपाईलाई भएको समस्या के थियो ?
मेरो वंशाणुगत जण्डीसको समस्या थियो । त्यसबाहेक थप टक्सीक हेपाटाइटिस भएर लामो समय काठमाडौंमा अनि दिल्लीमा अनि बैंककमा उपचार गर्नुपर्ने अवस्था आयो अहिले मेरो स्वासथ्य अवस्था ठीक छ ।

जव काठमाडौबाट दिल्ली र पछि बैंकक उपचारको लागि पुग्नुभयो कस्तो अनुभुति भयो तपाईलाई ? जतिवेला के हुन्छ भन्न नसकिने जस्तो जानकारी मिडीयामा आइरहेको थियो ।
काठमाडौं र दिल्लीमा उपचार गर्दासम्म मलाई सामान्य जस्तै लागेको थियो परम्परागत जण्डीसकै समस्या हो ठीक भइहाल्छ भन्ने लागेको थियो । तर दिल्लीमा उपचारबाट पनि ठीक नभएपछि र काठमाडौंमा चेकअप गराउँदा अल्लि गम्भीर नै हो क्यारे जस्तो लाग्यो । थप उपचारको लागि अध्यक्ष प्रचण्डको विशेष दवावपूर्ण आग्रह पश्चात थाइल्याण्ड नै जाने भन्नुभयो । सबै व्यवस्था उहाँले नै मिलाइदिनुभयो । तर जव बैंकक पुगीयो र लगातार १३ दिनसम्म मुखबाट खाना पनि खान नसक्ने र सुधार नै नहुने अवस्था जस्तो भयो, पुरै सलाइनको र इन्जेक्सनको भरमा रहनुपर्ने अवस्था आयो । त्यसबेला मात्रै थहा भयो त्यो त टक्सीक हेपाटाइटिस पो रहेछ । डाक्टरहरुका अनुसार कलेजोले पुरै काम नगर्ने भएको रहेछ । औषधी चलाउँदा पनि विरलै मानिसहरुको मात्रै औषधीले काम गरेको उदाहरणहरु पेश गरेका थिए । उनीहरुले लिभर नै फेर्नुपर्छ भनेर तयारी गर्नुस भनेर भनिसकेको अवस्था थियो । लिभर ट्रान्सप्लान्टको लागि पनि छलफल चलिसकेपछि मलाई धेरै नै जटिल अवस्थामा आइपुगिएछ भन्ने लाग्यो । तर पनि जीवन के हो मृत्यु के हो भनेर आफैंलाई तयार गरिसकेको हुनाले जे भएपनि आत्तिने कुरा चाहिं भएन । मानसिक रुपमा जस्तोसुकै परिस्थितिको सामाना गर्न म तयार भइसकेको थिएँ । त्यसैले मलाई त्यस्तो लागेन । तर जति पनि साथीहरु र शुभेच्छुकहरु त्यहाँ पुग्नुभयो, उहाँहरु चाहीँ अल्ली आत्तिनुभएको थियो ।
हाम्रो त नाफाकै जीवन थियो । जतिसम्मसकिन्छ जनताको लागि राष्टको लागि काम गर्ने भन्ने नै हो थियो रछ । तर पार्टी अध्यक्ष, नेताहरु, साथीहरु कार्यकर्ता र जनतामा भने धेरै नै चिन्ता र निराशा देख्दा चाहीं अल्ली नमीठो अनुभुति पनि बन्यो ।

अहिले कस्तो लागिरहेको छ त ?
सबैको शुभेक्षा र सहयोगमा म ठीक भएर आएकोले अब बाँकी जीवन पनि जनताको लागि नै समर्पण र सक्रिय राख्ने प्रण गरेको छु ।
सबैको सुभेक्षा पुरा गर्न सक्छु की सक्दिन, जनताका अपेक्षा हरु पुरा गर्न सक्छु की सक्दिन भन्ने विषयले मलाई गम्भीर बनाएको छ । वास्तवमै भन्ने हो भने मलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, नेताहरु र सम्पूर्ण जनताहरुको शुभेक्षाले थिचींदै गर्दा मलाई थप जिम्मेवारीवोधको अनुभुति भएको छ । मलाई राष्ट्र र जनताको पक्षमा काम गर्न अझ गम्भीर बनाएको छ ।
एकातिर नयाँ जिवन पाएको, नयाँ उर्जा पाएको अनुभुति भएको छ भने अर्कातिर नयाँ दायीत्व थपीएको अनुभुति भएको छ । म पुरै पार्टीको काममा, सामाजिक काममा र जनताको कामममा सक्रिय भएको छु । पहिला भन्दा म खानपान र जिवनशैलीमा अलि वढि होसियारी अपनाउने गरेको छु ।

जीवन के हो मृत्यु के हो भनेर आफैंलाई तयार गरिसकेको हुनाले जे भएपनि आत्तिने कुरा चाहिं भएन । मानसिक रुपमा जस्तोसुकै परिस्थितिको सामाना गर्न म तयार भइसकेको थिएँ ।

 

रोगको सामना गरिसकेर अहिले यो अवस्थामा आउँदा विगतको जिवन शैली र व्यवहारलाई कत्तिको दोषी देख्नुहुन्छ यो अवस्था आउनुमा ?
जनयुद्धको दुई वर्ष अगाडि नै म भुमिगत भइसकेको थिएँ । २०४८ सालमै पूर्णकालीन भइसकेको हुँदा तयसदेखा यताका २४ वर्षको जिवनशैली र बाध्यतालाई हेर्दा त्यस्तो लाग्छ । लगातार आन्दोलनमा हुँदा कहिलेखान नमिल्ने, कहिले सुत्न नमिल्ने कहिले आराम नहुन, अनियमीत जिवनशैलीले गर्दा नै यस्तो भएको होला जस्तो लाग्छ । अर्को कुरा मेरो व्यक्तिगत स्वभावले पनि साना तिना रोगहरु आउँदा वास्ता नै नगर्ने कारणले पनि यस्तो भयो होला । अर्को कुरा म साथीभाइले भनेको कुरा र आग्रहलाई काट्न नसक्ने भएकोले पनि हुन सक्छ । खानपान र जीवनव्यवहार र नियमीत व्यायामको कुरा गर्दा ख्याल गरिएन जसले पनि यस्तो अवस्था आयो ।
अर्को कुरा म राजनीतिक कामको चापले गर्दा पनि नियमित जिवनयापनमा रहन सकिएन । अध्यक्ष कमरेड राजनीतिक संयन्त्रको संयोजक र म सचिवायल संयोजकको रुपमा काम गर्नुपर्दा पनि निकै नै चापमा कामहरु गर्नुपर्ने अवस्था आयो । जसले पनि मेरो स्वास्थ्य अवस्था विग्रन गयो होला जस्तो लाग्छ ।

युद्धकालमा कुनै त्यस्ता अविष्मरणीय घटना छन् जहाँ भोकभोकै रहनुपरेको ?
त्यस्ता त धेरै दर्जनौं घटनाहरु छन् । जनमुक्ति सेनाको कमाण्डर कमीशार र सदस्यहरुले भोकभोकै थुप्रै रातहरु विताउनु पर्ने हुन्छ । प्रायः एक छाक मात्रै हो खाने त । रातभरी हिंड्ने, एक छाक खाने र महिनौंसम्म अनिदो त जनसेनाको जीवन नै थियो तर पनि हामी सल्यानको सदरमुकाम आक्रमणको तयारीमा जाँदै गर्दा रोल्पाको लिस्नेमा भएको भिडन्तपश्चात लगातार दुई दिन भन्दा वढि पानी बाहेक केही खानै पाइएन । हामीसँग १५ सय भन्दा वढिको फोर्स थियो । त्यसैगरी पुर्वमा रहँदा बन्दीपुर आक्रमणको क्रममा उदयपुर र सिन्धुलीका सिमाक्षेत्रमा लगातार १५ दिन भिडन्तहरु भए । सातु र पानी मात्रै खाएर १५ दिन जति लडियो । त्यस्ता क्षणहरु थुप्रै छन् ।
तपाई थाइल्याण्ड गएर उपचार गरीरहँदा र यहाँसम्म आउँदा जनताले भोगीरहेको स्वास्थ्य सम्वन्धी समस्याको हल गर्ने उपाय के हुन्छ भन्ने लाग्यो ?
सरकारले सरकारी अस्पतालको स्तर वृद्धि गर्नुपर्ने, नीजि क्षेत्रबाट संचालित अस्पताल र केन्द्रहरुले उच्चस्तरिय प्रविधि र जनशक्तिको लागि लगानी थप गर्नुपर्ने देखिन्छ । त्यसो भयो भने देशभित्र नै हामीले उच्च प्रविधि र जनशक्ति टिकाउन सक्ने र यहीं नै उपचार गर्न सक्ने हुन्छ ।

अहिले मैले मेरो उपचारमा राज्यकोषको एक रुपैयाँ पनि लिइनँ । मेरो उपचार पार्टी र मेरा सहयोगी शुभचिन्तक साथीहरुको सहयोगमा सम्पन्न भयो । म जनताले कर र तिरो तिरेर जम्मा भएको रकम जनताको स्वास्थ्य र विकासमा खर्च गर्नुपर्छ भन्ने मान्यता राख्दछु ।

त्यसको लागि तपाईले केही योजना बनाइरहनुभएको छ ?
त्यसको लागि मैलै स्वास्थ्य क्षेत्रका केही विज्ञहरु, विशेषज्ञहरु र लगानीकर्ताहरुसँग निरन्तर अन्तरक्रिया छलफल र सल्लाह गरिरहेको छु । केही साथीहरुले कलेजो प्रत्यारोपणसम्वन्धी काम गरिरहनुभएको छ त्यसमा मैले सक्दो सहयोग र सहभागिता जनाइरहेको छु । मैले समग्र नेपाली जनताको स्वास्थ्यमा सुधार ल्याउने एउटा आम कार्यक्रम र सरकारी अस्पतालको स्तर वृद्धि गर्ने, विशेषज्ञता र प्रविधिसहितको उच्चस्तरको सेवा उपलव्ध गराउने योजना आगामी बजेटमा पार्नुपर्छ भनेर सुझाव पनि राखेको छु । विदेशमा रिफर गर्ने अवस्था नआओस् भन्ने गरी योजना बनाउनुपर्छ ।
भिआइपी र उच्चपदस्थ व्यक्तिहरुलाई त राज्यले नै उपचार खर्च व्यहोर्ने गरेको छ तपाईको के भयो ?
हो अहिलेसम्म सबै उच्च पदमा पुगेकाहरुले राज्यकोषको रकमबाटै उपचार गर्ने गरेको विरासत हाम्रा सामु छ । मेरो हकमा पनि सरकार र मन्त्रीहरुले उपचार खर्च लिनुस, लैजानुस भन्नुभएको थियो । मैले म आफैं अर्थमन्त्री हुँदा पनि जनताको करबाट जम्मा भएको राज्यकोषको रकम आफ्नो व्यक्तिगत काममा खर्च नगर्ने प्रतिवद्धता जनाएको थिएँ । त्यसैले अहिले मैले मेरो उपचारमा राज्यकोषको एक रुपैयाँ पनि लिइनँ । मेरो उपचार पार्टी र मेरा सहयोगी शुभचिन्तक साथीहरुको सहयोगमा सम्पन्न भयो । म जनताले कर र तिरो तिरेर जम्मा भएको रकम जनताको स्वास्थ्य र विकासमा खर्च गर्नुपर्छ भन्ने मान्यता राख्दछु । हामीजस्ता अलि पहुँच भएकाहरुले राज्यकोषको रकम आफ्नो व्यक्तिगत विषयमा खर्च गराउन हुन्न भन्ने पक्षमा म छु । त्यसैले जो निमुखा छन् उनीहरुको लागि त्यस रकम उपयोग होस् भन्ने कुरा मैले राखें ।

बाबुराम जी एमाओवादीबाट निस्कनुभयो । उहाँ कम्युनिष्ट भन्दा वाहिर वुर्जुवा आन्दोलनमा गएर नयाँ वहस गरिरहनुभएको छ । त्यसैले उहाँले माओवादी आन्दोलनलाई विकास गर्ने बहस नगर्दासम्म उहाँसँगको एकता तत्काल हुँदैन ।

अहिले माओवादी पार्टी एकताबारे धेरै चर्चा सुनिन्छ , किन फुट्नुभयो र किन फेरी एकतामा जान लाग्दैहुनुहुन्छ ?
अहिले हामी माओवादी पार्टी र धारहरुलाई एकतावद्ध गर्ने गरी काम गरिरहेका छौं । हिजोको एउटा ऐतिहासिक आवश्यकता थियो की हामीले सामन्तवादलाई पराजीत गर्ने, एकात्मकताबाट संघियतामा जाने, समावेशी लोकतन्त्रमा जाने ऐतिहासिक क्रमभंग थियो । त्यो मूल कार्यभार थियो त्यो पुरा गरियो । यसलाई संस्थागत गर्ने सन्दर्भमा आउँदा त्यसलाई कसरी लिने, आत्मगत रुपले नै त्यबारेको दृष्टिकोणमा केही मतभेदहरु रहे । जसले गर्दा हामी अलग अलग भयौं । त्यसमावस्तुगत कारण थियो ।
अहिले फेरी मूलतः पुजिवादी जनवादी क्रान्ति पुरा भएको त्यसका कार्यभारहरु र एजेण्डाहरुलाई संविधानले मूलरुपमा संस्थागत गरेको र बाँकी एजेण्डाको लािग अगाडि वढ्नुपर्ने नयाँ ऐतिहासिक कार्यभार हाम्रासामु आएको छ । त्यसको लागि शक्ति सञ्चय गर्नुपर्ने आवश्यकता भएको छ । यस सन्दर्भबाट हेर्दा हिजो टाढा गएका भनिएका साथीहरु र नजीक रहेका साथीहरुबीच धेरै फरक नदेखिएको अवस्थामा अब जुट्नुपर्ने आवश्यकता बढेर गयो । यो अहिलेको वस्तुगत आवश्यकता बन्न पुगेको छ ।
अब जुट्नेतिर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि वढ्दै छ । कम्युनिष्ट पार्टीको स्थापनादेखि हेर्ने हो भने तेश्रो महाधिवेशनसम्म पुग्दा राणा जारशाहीको विरुद्ध संगठीत हुने क्रममा स्थापीत भएको कम्युनिष्ट पार्टी पञ्चायती शासनको कालरात्री सँगै फुट्यो र पछि त्यसको विरुद्ध भएका आन्दोलनमा तिब्र दमन बढ्दै गएपछि एकजुट भए । राजतन्त्र र सामन्तवादको विरुद्ध एकतावद्ध बन्दै गएको कम्युनिष्ट आन्दोलन २०४६ को जनआन्दोलन पश्चात एउटा उपलव्धी प्राप्त भयो बहुदल आयो तर राजतन्त्र समाप्त भएन त्यसलाई बुझाईमा समानता रहेन, पार्टीहरु बीच एकता र फुटको प्रक्रिया चल्यो फेरी फुटमा गयो । २०४८ मा एकता महाधिवेशनमा जुटीयो । पछि जनयुद्ध शुरु गर्नेमा मतभेद भयो एकता केन्द्र हामीबाट अलग भयो, हामीले माओवादी बनायौं र जनयुद्ध गर्यौं । राजतन्त्रको अन्त्य गरियो र संविधानसभाको राजनैतिक एजेण्डामा हामीले विजय हासिल गर्यौं र नयाँ परिवेशमा हामी फेरी जुट्यौं । एकीकृत माओवादी बन्यौं ।

एकताको प्रक्रियामा सबै फुटेका माओवादीहरुबीच नै एकता हुन्छ की के छ ?
सबैभन्दा पलिे फुटेको बैद्य समुह नै हो त्यसपछि उहाँबाट विप्लवजी फुट्नुभयो । अहिलेको प्रक्रियामा असहमति जनाउने बैद्य समुह नै हो । त्यसपछि त्यहाँ पनि असहमति राखेर विप्लवजी जानुभयो उहाँ अल्ली टाढाजस्तो पुग्नुभयो । उग्रबाम संकिर्णतातिर । त्यसैगरी बाबुराम जी एमाओवादीबाट निस्कनुभयो । उहाँ कम्युनिष्ट भन्दा वाहिर वुर्जुवा आन्दोलनमा गएर नयाँ वहस गरिरहनुभएको छ । त्यसैले उहाँले माओवादी आन्दोलनलाई विकास गर्ने बहस नगर्दासम्म उहाँसँगको एकता तत्काल हुँदैन ।
यसरी हेर्दा किरणजीहरुसँगको एकतालाई प्राथमीकतामा राखेका छौं । त्यसपछि मातृकाजी, मणीजी, गौरवशाली पार्टी भनेर एउटा सानो समुह बनेको छ, त्यसैगरी विप्लवजीसँग रहेका केही केन्द्रीय सदस्यहरुसहितको एउटा समुह छ । त्यसैगरी जयपुरी घर्तीजी लगायतका स्वतन्त्र रुपमा अलग भएर रहनुभएका केही साथीहरु सबैको भावना समेट्नेगरी हामी एकता प्रक्रिया अगाडि वढाउँदैछौं ।

पार्टी जुट र फुटमा वस्तुगत कारण त उल्लेख गर्नुभयो तर यसमा संस्थापन पक्षको केही कमजोरी पो रह्यो की वा आत्मगत पक्षको कस्तो भुमिका रह्यो भनेर समिक्षा गर्नुभएको छ ?
आत्मगत पक्षको कुरा गर्दा हामीले पनि समिक्षा गरिरहेका छौं । यस्तो भएको भए त्यसतो हुँदैनथ्योकी भनेर । संस्थापन पक्षको हिसावले केही अपेक्षा पुरा गर्न नसकिएको वा कम्प्रमाइज गर्न नसकेको भनेर अध्यक्ष प्रचण्डले अल्लि वढि जिम्मा लिनु पर्ला । टार्नै नसकिने कुरा जस्तो बाबुराम जी माक्र्सवादै छाडेर जानुभयो । अध्यषले चाहेर पनि उहाँलाई रोक्न नसक्ने अवस्था रहेछ भन्ने प्रष्ट भयो । किरणजीले जे कुरा उठाउनुभएको थियो उहाँ भित्रको विप्लवजी त्यसलार्य पनि छाडेर उता जानुभयो त्यसैले घटनाक्रमले किरणजीले उठाउनुभएको कुरा मनोगत रहेछ भनेर पुष्टि भयो । उहाँहरुले केही गर्न पनि सक्नुभएन ।
मूलतः अहिले पुजिवादी जनवादी क्रान्तिको कार्यभार पुरा भएकै कोणबाट सबैले बहस गरीरहनुभएको सन्दर्भ छ । यसबाट कसरी अगाडि जाने भन्नेमै बहस केन्द्रीत छ ।
कम्युनिष्टहरु मात्रै किन फुटेका होलान् ?
जहाँसम्म कम्युनिष्टहरु फुटे भन्ने छ । अरु दल पनि फुटेका छन् । माओवादी कम्युनिष्टहरु फुट्दा माओवादी नामै पार्टी बनाउने गरेकाले धेरै दखिएका हुन् । तर कांग्रेस फुट्यो महन्तले अलग पार्टी तमलोपा बनाए, गच्छेदारले अलग बनाए, जय प्रकाश गुप्ताले अलग पार्टी बनाए । धेरै जसो साना पार्टीहरु एमाले कांग्रेस बाटै फुटेर बनेका छन् । तर मान्छेहरुले कांग्रेस र एमालेमा भएको फुटलाई मार्क गर्दैनन् । संक्रमणकालमा पार्टीहरु फुट्ने र जुट्ने प्रक्रिया हुन्छ मूलत संक्रमणमा फुटकै प्रक्रिया वढि हुन्छ । कैयौं संविधानका एजेण्डा, सामाजिक एजेण्डा, जातीय एजेण्डा, धार्मीक एजेण्डा, क्षेत्रीय एजेण्डा, लैंगीक एजेण्डाका आधारमा पार्टीहरु बनेका छन् । पार्टीहरु विचारधाराको एजेण्डामा आधारीत हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन ।
क्रान्तिकारी विचारधारा, सुधारवादी विचारधारा, यथास्थितिवादी विचारधारा र पुरातन विचारधाराका आधारमा तीन चारवटा पार्टी हुनुपर्ने हो ।

माओवादी पार्टाीहरुबीच एकता प्रक्रियाले कति समय लेला ?
खासगरी हामीले पार्टी स्थापना दिवसवा अप्रील २२ मै एकता संयोजन समिति बनाएर जाने सोच बनाएका थियौं । किरणजीको कारणले त्यो हुन सकेन । सम्भवत हामीले मई १मा एकता संयोजन समिति बनाएर एकता प्रक्रियाको औपचारिक शुरुवात गर्नेछौं । हाम्रो पाटीृको स्थायी समितिले एउटा वार्ता टोली नै बनाइसकेको छ । मई १ मा संयोजन समिति बन्छ , त्यसपछि एकता प्रक्रिया अगाडि वढ्छ । धेरै लामो समय यसले लिंदैन ।

किरण नेतृत्वको पार्टी फुटेर मात्रै हुने भो एकता ?
६ महिना अघिसम्म किरणजी आफैं एकता गर्नको लागि वार्तामा सहभागि हुनुभएको थियो । हामीले पहल गर्यौं र किरणजीसहित शिर्ष नेतृत्व तहमै छलफल शुरु गरेर अगाडि वढिएको हो । बीचमा उहाँहरुले परि थापा नेतृत्वको पार्टीसँग एकता गर्नुभयो । त्यसपछि एकता नचाहने समुहको हावी भएको जस्तो भयो । अहिले बादलजीको नेतृत्वमा तत्काल एकतामा जानुपर्छ मिल्ने कुरा मिलिसक्यो, नमीलेका कुरा महाधिवेशनमा लगेर मिलाउन सकिन्छ भनेर अगाडि बढ्नुभयो । पार्टी फु्टने र बादलजीको नेतृत्वमा वहुसंख्यक केन्द्रीय सदस्यसहित उकता प्रक्रिया अगाडि वढ्ने जस्तो भयो । फेरी किरणजीले पर्खनुस भन्नुभयो । अहिले किरणजीसँग नै छलफल भइरहेको छ । हामीले किरणजीसहित नै एकता गरौं भनिरहेका छौं । त्यही राम्रो हुन्छ । यदि किरणजी आजै तयार नहुने हो भने जो जो तयार हुनुहुन्छ उहाँहरुसँग एकता गरौं अरु साथीहरु कुनै न कुनै दिन एकतामा आइहाल्नुहुन्छ ।

किरणलाई अध्यक्ष दिन तयार नभएर एकता नभएको भन्ने चर्चा पनि छ नी ? के हो ?
होइन । त्यस विषयमा प्रवेश नै भउको छैन । अहिलेसम्म किरणजीले अध्यक्ष चाहिन्छ भन्नुभएको पनि छैन । उहाँको पार्टीले माग गरेको पनि छैन । पदको बारेमा कुनै छलफल भएकै छैन । विचार राजनीति र कार्यदिशाको विषयमा मात्रे छलफल भएको छ । धेरै जसो कुरा मिलिसकेको छ । यसले आकार गहण गर्दैछ । हामीले सबै नेताहरुलाई सम्मानका साथ नै स्थान र जिम्मेवारी दिनेछौं । सबैको भावनालाई सम्मान र संस्थागत गरिन्छ ।
हामी संस्थापनमा रहेका साथीहरुले त्याग गरेर भएपनि एकता प्रक्रिया अगाडि वढाइन्छ । पार्टी र क्रान्तिको लागि फेरी एकचोटी जस्तोसुकै त्याग गर्न पनि हामी संस्थापन पक्ष तयार छ ।

त्यसोभए अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी एकीकरण हुन्छ ?
हो । अहिलेसम्म अध्यक्ष प्रचण्डकै नेतृत्वमा कसैले पनि इन्कार गरेको देखिंदैन । उहाँलाई हिजो पनि नेता मानेको, आज पनि सिंगै राष्टले नेता मानेको र हिजो जहाँ जहाँ पगेपनि आज घुम्दै कमरेड प्रचण्डले पनि किरणले पनि अरु साथीले पनि एकताको विकल्प नदेखेपछि भएको यो बहसमा प्रचण्डकै नेतृत्वमा एकता हुन्छ ।

अहिले माओवादीविरुद्ध जनयुद्धकालीन मुद्धाहरु व्युताउन थालीएकाले तपाईंहरु डराएर एकतावद्ध हुन बाध्यता सिर्जना भएको त होइन ?
त्यो सामान्य कुरा हो । मुख्य कुरा विचार राजनीति र वस्तुगत पक्षको कुरा हो । तर हामी सत्य निरुपण आयोग वा वेपत्ता आयोगले हामीलाई दोषी बनाएर कार्वाही गर्छ की भनेर डराएर हामी एकतामा आउन लागेको भन्ने कुरा हुँदै होइन ।
हामी किन डराउने ? हामीले युद्ध हारेको भए हामीलाई राज्यले अपराधी घोषणा गर्दथ्यो, हामीलाई जेल हाल्थ्यो । तर त्यसो होइन यो त न हार न जीतको अवस्थामा सम्झौतामा टुंगीएको युद्ध हो ।
हामीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा मूलत तीन कुरामा सम्झौता गरेका थियौं । पहिलो राजनीतिक विषय संविधानसभाको निर्वाचनमार्फत संविधान निर्माण गर्ने, दोश्रो सैन्य विषयलाई सेना समायोजनद्धारा हल गर्ने र तेश्रो कुरा जनयुद्धकालिन कतिपय मुद्धा र न्याय संपादनलाई संक्रमणकालीन न्याय सिद्धान्तद्धारा हल गर्ने । त्यसको लागि निश्पक्ष रुपमा सत्य निरुपण र वेपत्ता आयोग गठन गर्ने । गम्भीर ढंगको मानव अधिकार उलंघन भएको छ वा दुबैको नीति बाहीर भएको छ भने त्यसलार्य कार्वाही गर्ने र दुबैको नीति भित्रबाट भएको छ भने मेलमिलापको माध्यमबाट हल गर्ने भनिएको छ ।

हिजो प्रचण्डको नेतृत्वमा हामीले राज्यविरुद्ध विद्रोह गरेकै हो । गर्न लगाएकै हो । लड्न लगाएकै हो, हामी लडेकै हो चौकी बव्जा गरेकै हो, व्यारेक आक्रमण गरेकै हो, बैंक कव्जा गरेकै हो । उहाँले नैतिक जिम्मा लिनै पर्दछ । हामी सुकारी सफाय गर्छौ, चौकी कब्जा गछौं, सम्पत्ती कब्जा गछौं भनेकै हो, राज्यले आतंककारी घोषणा गरेकै हो, टाउकोको मूल्य तोकेकै हो, मुद्धा लगाएकै हो, सेना प्रहरी परिचालन गरेकै हो, गोली हान्न भनेकै हो, मान्छे मार्न आदेश दिएकै हो ।

क्षती त भइसक्यो त्यसलाई मानवीय वा भौतीक क्षतीको पूर्ती को लागि परिपुरण, क्षतीपूर्ती दिने, गणतन्त्रको लागि संघियताको लागि परिवर्तनको लागि गरिएको वलिदानको रुपमा संस्थागत गर्ने र सम्मान गर्ने । शहीद वेपत्ताको नाममा कुनै एयरपोर्ट, राजमार्ग, जलविद्युत आयोजना वा अस्पताल विद्यालय निर्माण गर्ने आदि गरेर संस्थागत गर्ने भनिएको हो ।
त्यसैले राजनीतिक विषय हल भयो, सैन्य विषय पनि हल मूलभुत रुपमा भएको छ । संक्रमणकालनि न्याय सम्वन्धी कुरा आयोगहरुमार्फत हल गर्ने कोशीष भइरहेको छ । यो भन्दा वाहिर गयो भने शान्ति प्रक्रिया भंग हुन्छ । कमरेड प्रचण्डले नै शान्ति प्रक्रिया भंग गरेर युद्ध वा विद्रोह वा आन्दोलन वा जंगलमा जानुपर्छ । त्यो नभए दिगो शान्ति कायम हुन सक्दैन ।
त्यसकारण किन डराउने ? हिजो प्रचण्डको नेतृत्वमा हामीले राज्यविरुद्ध विद्रोह गरेकै हो । गर्न लगाएकै हो । लड्न लगाएकै हो, हामी लडेकै हो चौकी बव्जा गरेकै हो, व्यारेक आक्रमण गरेकै हो, बैंक कव्जा गरेकै हो । उहाँले नैतिक जिम्मा लिनै पर्दछ । हामी सुकारी सफाय गर्छौ, चौकी कब्जा गछौं, सम्पत्ती कब्जा गछौं भनेकै हो, राज्यले आतंककारी घोषणा गरेकै हो, टाउकोको मूल्य तोकेकै हो, मुद्धा लगाएकै हो, सेना प्रहरी परिचालन गरेकै हो, गोली हान्न भनेकै हो, मान्छे मार्न आदेश दिएकै हो । ती सबै दुबैपक्षको नीतिभित्र भएका कुरा हुन् । त्यसरी बोलीएको कुरा र आदेशलाई सेना वा प्रहरीको एक जवान वा माओवादीको एक लडाकुले गरेको भनेर उसलाई भिक्टीमाइज्ड गर्न पाईंदैन, हुँदैन । त्यसो गरियो भने शान्ति प्रक्रिया भंग हुन्छ ।
लडाईको पनि नियम हुन्छ । युकालमा भएका कतिपय कमजोरीमा क्षमा मागिएको छ, खण्डन गरिएको छ । द्धन्दमा भएका विशेष घटनामा विशेष ढंगले नै सहमति कायम गरिन्छ । कसैले कसैलाई धम्क्याएर वा तर्साएर वा कार्वाही गरेरै ठीक पार्छु भन्ने हो भने फेरी विद्रोह हुन्छ फेरी बन्दुक उठ्छ । त्यो कसैले चाहेको छ भने उसैेको लागि आत्मघाती हुन्छ ।

राज्य पक्षबाट भएका भन्दा विद्रोही पक्षबाट भएका घटनाहरुका मुद्धाहरु धेरै उठाउने गरिएको पाइएको छ नी ?
यसमा द्धन्दको नाममा खेती गर्ने र पैसा कमाउनेहरुको समुह नै, गिरोह नै छ । तीनको पेशा हो । सहजीकरण गर्ने, प्रशिक्षीत गर्ने, शशक्तिकरण गर्ने भनेर पैसा लिए खाए । त्यस्तै सेना समायोजनको कुरा गर्दा कोही द्धन्द विशेषज्ञको नाममा, कोही विज्ञको नाममा कोही विभिन्न सहजकर्ताको नाममा त्यसो गरे । अहिले आउँदा तिनिहरुको विजीनेश सकियो र आजको विजीनेश भनेको माओवादी विरुद्धमा मुद्धा हाल्न उक्साउने, मुद्धा हाल्ने, सहजिकरण गर्ने आदि हो । त्यसमा विभिन्न एनजीओ, मानवअधिकारकर्मी, पत्रकार विज्ञहरु लागि परेका छन् । हामी कोहीको उक्साहटमा लाग्न, आत्तिन आवश्यक छैन । यसैले जागीरेहरुको पछी लागर गइयो भन देश वर्वाद हुन्छ, देशमा दिगो शान्ति हुन सक्दै । त्यसैले हामी हाम्रो मौलिकतामा शान्ति स्थापना गर्ने दिशामा छौं ।
सरकारको महत्वपूर्ण र प्रमूख घटक र सत्तारुढ दलको नेताको हैसियतमा सरकारको ६ महिनाको मुल्यांकन गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
संविधानसभाबाट संविधा निर्माण गर्दा प्रमूख दलहरुबीच भएको सहमतिअनुसार संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकर बनाउने कुरामा हाम्रो पार्टीले सहमति जनाएका थियो । त्यसैअनुसार अध्यक्ष प्रचण्डको पहलमा ओलीजीको नेतृत्वमा सरकार बनाउन काम भयो । तर कांग्रेस आउन नमानेपछि हामी सहमति अनुसार नै सरकारमा सहभागि भयौं ।
सरकार बनाउने बेला हामीले केही प्रतिवद्धता जनाएका थियौं । पहिलो कुरा संविधान निर्माणदेखि नै असहम िजाहेर गदै अएका दल र समुह समुदायलाई सहमतिमा लजाने उनीहरुको भावनालाई संवोधन गर्ने, दोश्रो कुरा भुकम्पले थिलोथिलो भएका जनताको वास्तविक जिवनमा नै परिवर्तनको आभाष हुने गरी काम गर्ने र तेश्रो सुसासन र अवसरको ज्ञारेन्टी गर्ने कुरा र चौथो कुरा गणतान्त्रिक संघिय मुलुकले सबै छिमेकी र विदेशी मूलसकहरुसँग दौत्य सम्वन्ध स्थापीत गर्ने र थप सुदृढ गर्ने र त्यसमार्फत दृढताका साथ राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतालाई मजबुद् गर्ने तथा संक्रमणकालीन न्याय सम्वन्धीका केही काम बाँकी छन् तीनलाई जिम्मेवारीपूर्ण ढंगले पुरा गर्ने ।
आज फर्केर हेर्दा ती कार्यभार कहींपनि पुरा हुने दिशामा देखिंदैनन् । प्रधानमन्त्री उखान टुक्का गर्दै हिंड्ने, जनजीविकाका गम्भीर विषयलाई जोक्समा बदल्ने, हावादारी गफ दिने । मधेश जनजातीलगायतलाई चिढाउने गरी अभिव्यक्ति दिने काम भएको छ । सुसासन दिन त परै जावोस कालाबजारी र भ्रष्टाचारलाइ संस्थागत गर्ने काम भयो । अनुगमन नियमन र सुरिवेक्षणमा असफल भयो । सरकारको ६ महिनाको कुरा गर्दा राम्रो भएका छैन भन्ने नै मुल्यांकन हो । हामीले मन्त्रीहरुलाई जागीर खान मात्रै त्यहाँ पठाएको त होइन नी । जनता र सरकार नजोडिने स्थिति सिर्जना भएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले १ नंबरको पार्टी बनाउने भन्नुभएको थियो । के सम्भव छ ?
हिजो हाम्रो पार्टी एजेण्डाको हिसावले, संख्याको हिसावले र प्रभावको हिसावले १ नंबर थियो । आज परिस्थिति फेरीएको छ । एजेण्डा फेरिएको छ । अवको एजेण्डा कसले नेतृत्व गर्ने भन्ने कुरा हो । अबको एजेण्डा देश निर्माणको कुरा हो भने अर्को कुरा देशलाई आर्थिक समृद्धिसहित आर्थिक सामाजिक रुपान्तरणसहित देशलाई कहाँ लैजाने भन्ने कुरा हो ।
काग्रेस यहिं राख्नेमा छ भने एमाले केही सुधारमात्र गर्ने पक्षमा छ हामी त समाजवादमा लैजाने कुरा गर्दैछौं । त्यस हिसाले हेर्दा एजेण्डाको हिसाबले हामी १ नंबरमा हुन्छौं अब । त्यो एजेण्डालाई सफल पार्न त्यही अनुसारको सांगठनीक संरना र परिचालन आवश्यक पर्छ । त्यसको लागि हामी आत्मगत रुपमा पार्टीहरुबीच एकीकरण र सांगठनीक सुदृढिकरण र रुपान्तरणको अभियान संचालन गर्देछौं । त्यसलाई महाधिवेशनसम्म पुर्याएर परिणाममा लैजान्छौं । जवस मोर्चाहरुको भेला सम्मेलन चलिरहेको छ । पार्टी सदस्यता नविकरणको काम भइरहेको छ । विकास, निर्माणमा आम जन परिचालन गर्ने र जनतालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड्ने र सहयोग गर्ने काम पनि हामी अगाडि वढाउँछौं । यो मार्फत हामी दुर्य वर्षभित्रमा संख्यामा पनि र एजेण्डामा पनि एक हुन्छौं भन्ने हो । त्यसको लागि कामहरु भइरहेको छ । त्यो सम्भव छ ।

प्रस्तुती – सन्तोष पौडेल/ संगिता खड्का