विप्लव कार्यकर्ताले थाले हिरासतमै अनशन
काठमाडौं, १८ बैसाख
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतममाथि कार्यकक्षमै गएर कालोमोसो दलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठनका दुई कार्यकर्ताले हिरासतमै अनसन शुरु गरेका छन् ।
पक्राउ परेका प्रकाश अधिकारी र विकाश अधिकारीले प्रहरी हिरासतमा आमरण अनसन शुरु गरेका हुन्।
जिशिअलाई बुधबार दिउँसो कालोमोसो दलेर भागेका क्रान्तिकारीका विद्यार्थीहरुमध्ये दुई जनालार्य पक्राउ गरिएको थियो । उनीहरु शुक्रबार जोरपाटीबाट पक्राउ परेका थिए ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनीहरुलाई स्वयम्भू प्रहरी वृत्तमा राखिएको छ ।
क्रान्तिकारीका विद्यार्थी संगठनले भने पक्राउ गरिएका आफ्ना विद्यार्थी नछाडे कडा आन्दोलन चर्काउने चेतावनी दिएको छ । क्रान्तिकारीले उनीहरुलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको आरोप लगाएको छ ।
सोमवारसम्म पनि उनीहरुलाई नछाडिए आन्दोलन चर्काउने क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी दिएका छन् ।
विप्लव माओवादी नयाँ जनयुद्ध सञ्चालन गर्ने तयारी गर्दैछ ।