एमाओवादी स्थाई समिति बैठक सकियो , के निर्णय भयो त ?
काठमाडौं, १७ वैशाख ।
एकिकृत नेकपा माओवादीको स्थायी समिति बैठक सकिएको छ ।हिजोदेखी शुरु भएको स्थायी समिति बैठक आज सकिएको एमाओवादीले जनाएको छ ।
बैठकले संविधान कार्यान्वयन र राष्ट्रिय एकताका लागी सरकार बाहिर रहेका दलसंग छलफल गर्ने निर्णय गरेको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए । उनले राष्ट्रिय सहमति र एकता आवश्यक रहेको भन्दै एमाओवादीले सबै राजनीतिक दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको बताए ।
उनका अनुसार सरकार बाहिर रहेका नेपाली कांग्रेस, मधेस केन्द्रित र आदिवासी जनजाती दलहरुसँग छलफल गर्ने निर्णय भएको हो । राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्र वर्तमान समस्याको समाधान गर्न सक्ने एमाओवादीको निष्कर्ष छ ।
स्थायी समिति बैठकले विभाजित माओवादी पार्टी, शक्ति र व्यक्तित्वहरुसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल र बहसलाई तिब्र पार्ने निर्णय पनि गरेको महराले जानकारी दिए । यसको लागी माओवादी पार्टीहरुबीच कुन मितिमा एकिकरण हुने ठोस निर्णय नभएपनि पार्टी एकता र ध्रुबीकरणका निमित्त आफ्नो पार्टीले छलफललाई तीब्र पार्ने निर्णय गरेको महराको भनाई छ ।