मई दिवसबाट माओवादीहरुबीच एकता प्रक्रिया शुरु – वर्षमान पुन ‘अनन्त’

ananta int 1काठमाडौं, १७ बैसाख ।
एकीकृत नेकपा माओवादीका सचिव एवं पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी पार्टीहरुको एकता प्रक्रिया मई दिवसबाट शुरु हुने बताएका छन् । नेता अनन्तले मूलखबर डटकम सँगको विशेष कुराकानीमा जनयुद्धमा सहभागि भएका र हाल विभिन्न माओवादी पार्टीहरुको रुपमा विभक्त भएका माओवादी क्रान्तिकारी धारहरुबीचको एकता प्रक्रिया मई दिवसबाट औपचारिक रुपमा शुरु हुने खुलासा गरेका हुन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड वैचारिक र साँगठनीक रुपमा पनि कुशल नेतृत्व भएकाले प्रचण्डकै नेतृत्वमा पार्टीहरु एकीकृत हुने पनि अनन्तले दावी गरे ।
बाबुरामजीले माक्र्सवाद र वामपन्थी राजनीतिबाटै अलग भएको सन्दर्भमा वामपन्थी विचारधारामा आवद्ध र जनयुद्धलाई सकारात्मक रुपमा ग्रहण गर्ने कम्युनिष्ट  पार्टीहरुबीच एकता प्रक्रिया शुरु हुने उनले बताए । एकीकृत नेकपा माओवादी र बैद्य नेतृत्वको माओवादीबीचको एकतामात्रै भनेर चर्चा चलिरहँदा उनले मातृका नेतृत्वको माओवादी, मणी थापा नेतृत्वको पार्टी, र विप्लव नेतृत्वको माओवादीबीच पनि संगसंगै एकता प्रक्रिया शुरु हुने उनले बताए ।
मई दिवसका दिन एकता संयोजन समिति निर्माण गरी एकताको औपचारिक प्रक्रियाको शुरुवात गरिन्छ उनले भने त्यसले केही महिनाभित्र पूर्ण रुपमा एकतामा लैजान्छ । सकेसम्म बैद्यजीसहित एकता प्रक्रिया शुरु गर्ने धेरै कोशीस गरियो तर अव उहाँलाई मात्रै पर्खीरहँदा जनताको एकताको चाहना र आवश्यकतामाथि अन्याय हुन्छ त्यसैले बादलजी, पम्फाजिसहितको ठूलो टीम, मातृकाजिसहितको पार्टी, मणीजीसहितको पार्टी, जयपुरीजीहरु जस्ता स्वतन्त्र रुपमा एकताको पक्षमा काम गरिरहनुभएका थुप्रै कमरेडहरुबीच एकताको प्रक्रिया शुरु गरिनेछ ।
एकताको प्रक्रियालाई औपचारिक रुपमा शुरु गर्न तयारीस्वरुप एमाओवादीको स्थायी समिति बैठक पनि जारी रहेको छ ।
अनन्तसँगको विशेष अन्तरवार्ता प्रतिक्षा गर्नुहोस्