१९ दिने जनआन्दोलनमा गोली हान्ने ,अहिले भए शसस्त्र प्रहरीको महानिरीक्षक
काठमाडौं,१४ वैशाख ।
सरकारले २०६२–६३ सालमा भएको १९ दिने जनआन्दोलनमा गोली चलाउने तात्कालीन शसस्त्र प्रहरीका अधिकृत तथा बर्तमान कायममुकायम महानिरीक्षक दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको माथिल्लो पद महानिरीक्षकमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।उनी दोस्रो जनआन्दोलन ०६२ र ६३ मा सर्वसाधारणलाई गोली चलाउने प्रहरी अधिकृत भनेर चिन्छन् । त्यतिबेला उनले पेस्तोल ताकेर गोली चलाएको तस्वीर ‘भाइरल’ बनेको थियो ।
आन्दोलनकारीलाई ताकेर गोली चलाउँदै दुर्जकुमार राई ।तस्वीर: राजेन्द्र मानन्धर
सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो । दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि यसको आलोचना भएको थियो ।
तर आलोचनाकै बाबजुद उनलाई ०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बनाउने निर्णय गर्यो ।
त्यसपछि गत ०७२ पुस ३ गते पुनः पदोन्नति गर्दै कायम मुकायम प्रहरी निरीक्षकको जिम्मेवारी सुम्पियो । अहिले महानिरीक्षकको मुख्य जिम्मेवारी दिईएको हो । यो संगै केपी ओली नेतृत्वको सरकारको आलोचना शुरु भएको छ । उनी किर्ते नागरीकता र सेनाको भगौडा भनेर पनि चिनिन्छन् ।
त्यस्तै मन्त्रिपरिषद्को वैठकले झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जनाको नागरिकता सरकारले खारेज गरेको छ ।बैठकले महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्रको नागरिकता खारेज गरेको हो ।उनीहरुले रुपन्देहीबाट नागरिकता लिएका थिए ।
यसैगरी सरकारले १२ सहसचिवहरुको पदस्थापन पनि गरेको छ ।
सरकारले आउँदो २१ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वैशाख २१ गते बिहान ११ बजे बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।