ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुरु
काठमाडौं, १३ वैशाख ।
भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण सुरु भएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भूको अनन्तपुर मन्दिरको पुनर्निर्माणको शुभारम्भ गरेका छन् ।
यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटन दरबार स्क्वायरको पुनर्निर्माण शुभारम्भ गरेका छन्। ललितपुर उपमहानगरपालिका र पुरातत्व विभागको समन्व्यमा पाटन दरबार स्क्वायरको पुननिर्माण थालिएको हो ।
पुननिर्माणको शुभारम्भ गर्दै प्रचण्डले भूकम्पबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणको लागि सत्तापक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । पुनर्निर्माणको काम ढिलो सुरु भएकोमा नागरिकको आक्रोस बढ्नु स्वभाभिक भएकोले अब सुरु भएका कामलाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने प्रचण्डको भनाई छ ।
यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हनुमानढोकाको वंशगोपाल मन्दिर र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको पुनर्निर्माण कार्यको शुभारम्भ गरेका छन् । भूकम्प अति प्रभावित जिल्लाका एक एकवटा विद्यालय तथा स्वास्थ्य संस्था भवनको पुनर्निर्माण पनि आजै हुँदैछ ।