भाग्यले बाँचेका सोनिश निशुल्क पढ्न पाउने
काठमाण्डौ,१२ वैशाख ।
गतबर्ष वैशाख १२ को विनाशकारी भूकम्पमा भाग्यले बाँचेका सोनिश अवालेले निशुल्क पढ्न पाउने भएका छन् ।भत्किएको घरको भग्नावशेषबाट २२घण्टापछि उद्धार गरिएका सोनिश अवालेलाई नेपाली सेनाले निशुल्क पढ्ने व्यवस्था गर्ने भएको हो ।
उनलाई गतबर्ष भुकम्पबाट भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाले जीवितै उद्दार गरेको थियो ।
भूकम्प गएको एक बर्ष पुगेकै दिन सेनाले सोनिशलाई पढाउने घोषणा गरेको हो ।
सैनिक मुख्यालयमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सोनिशलाई सैनिक विद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।सोनिश परिवारले अझैसम्म सरकारी राहत पाएका छैनन् । सोनिशकी आमा रश्मिलाले छोराछोरीलाई कसरी बढाउने चिन्ता व्यक्त गर्दै आएकी थिइन् ।
सोनिस अहिले १६ महिनाका भएका छन् । सोनिशलाई नेपाली सेनाले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा ६ देखि स्नातक तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउने भएको हो ।
५ कक्षासम्मको शिक्षा भने अभिभावकले व्यवस्था गरेको विद्यालयमा गराइने छ । ५ कक्षासम्मको शिक्षामा पनि नेपाली सेनाले सहयोग गर्ने भएको छ ।