सरकारले चेतावनी दियो बैदेशिक कुटनीतिक निकायलाई

काठमाडौं, ११ वैशाख ,

foregin ministryसरकारले आफूलाई जानकारी नगराई विदेशी कुटनीतिक निकायले मधेशी मोर्चालाई भेट्नु कुटनीतिक आचारसंहिता विपरित भएको भन्दै उनीहरुलाई सचेत गराएको छ । सरकारको कूटनीतिक निकायलाई जानकारी नगराई काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिहरूले मधेसी मोर्चाका नेताहरूसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरूलाई सचेत गराउँदै भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाका नेतासँग सरकारको जानकारीबिना राजदूतहरूले भेट्नु कूटनीतिक मर्यादा र भियना महासन्धिविपरीत रहेको भन्दै उनीहरूलाई सचेत गराइएको जनाएको छ । कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिले सरकारलाई जानकारी नै नगराइकन बुधबार मधेसी मोर्चासँग छलफल गरेका थिए । मोर्चा आन्दोलनको तयारीमा छ ।
कूटनीतिज्ञहरूले नेपाल सरकारको जानकारीबिना कसैलाई भेट्नु कूटनीतिक आचारसंहिता विपरीत हो । आन्दोलनको तयारीमा रहेको र गर्दै आएको पक्षसँग कूटनीतिक समुदायले भेट्नुले उनीहरूलाई त्यस प्रकारको मनोबल दिनु ठहर हुने भन्दै सरकार यसमा सचेत बनेको मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘जानकारी नदिइकन गरिने भेटघाट कूटनीतिक आचारसंहिता र भियना महासन्धिविरुद्ध हो’ भनिएको छ । यस्तो भेटघाट र आफूखुसी गरिने क्रियाकलाप नेपाल सरकारको सूचीमा रहेको समेत अधिकारीहरूले उल्लेख गर्दै यस्ता राजदूत तथा प्रतिनिधिलाई कसरी ट्रयाकमा ल्याउने भन्नेमा सरकार लागिपरेको समेत बताए । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले उसको हरेक आन्तरिक मामलामा कसैले पनि विना जनाकारी हस्तक्षेप गर्ने कार्य नेपाल र नेपालीको लागि अपमानको विषय भएको उनको भनाई छ ।