किन पुगे प्रचण्ड दाङको तुल्सीपुर ?
दाङ,१० बैशाख ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दाङको तुल्सीपुर पुगेका छन् । थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्धाटन समारोहमा सहभागी हुन प्रचण्ड त्यहाँ पुगेका हुन् ।उनले सम्मेलनको उद्घाटन समारोहलाई संबोधन पनि गरे ।
प्रचण्डले संविधान कार्यान्वयनका लागि बृहत्त राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
उनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेशि जस्ता मुद्धाहरु लागु गर्न आफ्नो दलको नेतृत्वमा राष्ट्रिय एकताको आवश्यकता रहेको औल्याए ।
उनले भने, ‘जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारमा राष्ट्रिय एकताको नेतृत्व माओवादीले नै गर्छ, पुँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।’
क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रंसग कोट्याउँदै प्रचण्डले सबै माओवादी शक्तिहरु एक ठाउँमा आउन जरुरी भएको धारणा राखे । केही नेताहरु पार्टीबाट बाहिरिदा पार्टी कमजोर भएको जस्तो देखिए पनि एमाओवादी एकनम्बरको पार्टी रहेको उनले दाबी गरे ।
‘विरामी हुँदा उपचार गर्ने डाक्टर-वैद्य अहिले हाम्रो पार्टी भित्र हुनुहुन्न, यसले मनोवैज्ञानिक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ,’ प्रचण्डले भने, ‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र ऐजेण्डाको आधारमा माओवादी एक नम्बरको पार्टी हो ।’
दुई वर्ष भित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्बरको बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ थियो । राजनीतिक उपलब्धिहरु हासिल भए पनि जनताका आवश्यकताहरु अझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलवन्द हुनुपर्ने उनको भनाई थियो ।
थारुवान राज्यको मुख्य माग राखेर थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन दाङको तुलसीपुरमा शुरु भएको हो ।