काठमाडौं,६ वैशाख
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको दोस्रो खेलमा कप्तान पारस खड्काको शतक र शरद भेष्काकरको अर्धशतकको मद्धतले नेपालले नामिबियालाई ३ विकेटले पराजीत गरेको छ ।
नामिबियाले दिएको २ सय ४० रनको चुनौति नेपालले ४९. ५ ओभरमा पुरा गरेको हो । १ बल बाँकी छँदा नेपाली क्रिकेट टोलीले कठिन जित हात पारेको हो ।कीर्तिपूर मैदानमा नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ९४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन बनाएका थिए । आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको हो । शरद भेषावकरले ७७ रनको महत्वपूर्ण योगदान दिए । पारस आउट भएपछि उनको काधमा नेपाललाई जितसम्म पुर्याउने जिम्मेवारी थियो । उनले हतास नभइकन केवल १ बल बाकी छँदा नेपाललाई जित दिलाएका छन् । उनी ७७ रन बनाउँदै अबिजीत रहे ।
विश्व क्रिकेट लिग च्याम्पियनसीपमा यो नेपालको दोस्रो जित हो । यो जितसगै नेपाल अंकतालिकामा पाचौ स्थानमा उक्लेको छ । यसअघि नेपाल पुछारमा थियो ।
यसअघि व्याटिङ गरेको नामिबियाले नेपाललाई २ सय ४० रनको चुनौती पेश गरेको थियो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली नामिबियाले पुरै ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो ।
पहिलो खेल ५ विकेटले गुमाएको नामिबियाले दोस्रो खेल ३ विकेटले गुमायो।
नामिबियाका लागि ओपनर स्टेफन बार्ड र जेन ग्रीनले क्रमश ५१ र ४७ बनाएर राम्रो सुरुवात गरेका थिए । नेपालले पहिलो विकेटका लागी २१ औं ओभरसम्म कुर्नुपरेको थियो ।
सन्दीप लामिछानेको बलमा बार्ड क्याच भएपछि नेपालले नामिबियाका व्याट्सम्यानमाथि दबाव बढाएको थियो । तर, मध्यक्रमका व्याट्सम्यान बर्जर र स्कल्चले र कोट्जेले उत्कृष्ट प्रदर्शन गरेपछि नामिबिया ठूलो स्कोरतर्फ लम्किएको थियो ।
बर्जरले ६० बल सामना गर्दै अविजित ४३ रन बनाए । जम्मा ११ बल सामना गरेका कोट्जेले ३२ र १७ बल खेलेका स्कल्जले २२ रन बनाएका थिए । ९ औं नम्बरमा क्रिज आएका स्मिथले पनि नामिबियाको लागि १० बलमा १४ रन बनाए ।
नेपालको लागि सन्दीप लामिछाने, शक्ति गौचन र बसन्त रेग्मीले २–२ विकेट लिए । नामिबियाका तीन व्याट्सम्यान रन आउट भएका थिए । नेपाली खेलाडीलाई दर्शकले नारा लगाएर साथ दिएका थिए ।