आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप -नामिबियाद्धारा नेपाललाई २ सय ४० रनको चुनौती पेश
काठमाडौं,६ वैशाख ।
आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाललाई २ सय ४० रनको चुनौती पेश गरेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली नामिबियाले पुरै ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको हो ।
पहिलो खेल ५ विकेटले गुमाएको नामिबियाका लागि दुई ओपनर व्याट्सम्यानले उत्कृष्ट पारी खेल्दै ठूलो स्कोर खडा गर्न मद्दत गरेका हुन् ।
नामिबियाका लागि ओपनर स्टेफन बार्ड र जेन ग्रीनले क्रमश ५१ र ४७ बनाएर राम्रो सुरुवात गरेका थिए । नेपालले पहिलो विकेटका लागी २१ औं ओभरसम्म कुर्नुपरेको थियो ।
सन्दीप लामिछानेको बलमा बार्ड क्याच भएपछि नेपालले नामिबियाका व्याट्सम्यानमाथि दबाव बढाएको थियो । तर, मध्यक्रमका व्याट्सम्यान बर्जर र स्कल्चले र कोट्जेले उत्कृष्ट प्रदर्शन गरेपछि नामिबिया ठूलो स्कोरतर्फ लम्किएको थियो ।
बर्जरले ६० बल सामना गर्दै अविजित ४३ रन बनाए । जम्मा ११ बल सामना गरेका कोट्जेले ३२ र १७ बल खेलेका स्कल्जले २२ रन बनाएका थिए । ९ औं नम्बरमा क्रिज आएका स्मिथले पनि नामिबियाको लागि १० बलमा १४ रन बनाए ।
नेपालको लागि सन्दीप लामिछाने, शक्ति गौचन र बसन्त रेग्मीले २–२ विकेट लिए । नामिबियाका तीन व्याट्सम्यान रन आउट भएका थिए । नेपालका लागि भरपर्दा मानिएका बलर सोमपाल कामी आजको खेलमा महंगो साबित भए ।उनले ७ ओभर बलिङ गर्दा ६४ रन खर्चिए ।नेपाली खेलाडीलाई दर्शकले नारा लगाएर साथ दिएका थिए ।